के होला माधव नेपाल सहित १४ सांसदको पद ? - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

के होला माधव नेपाल सहित १४ सांसदको पद ?



काठमाडौँ- नेकपा एमालेले कारबाही गरेको माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ । पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाई हुन लागेको हो ।

एमालेले माधव नेपाल, रामकुमारी झाक्रीसहित १४ सांसदलाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबा निष्कासन गरेको थियो । तर, १४ जनालाई पदमुक्त नगरी सभामुख अग्नि सापकोटाले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सो मुद्दामा आज फैसला आउला त ? सबैको ध्यान सर्वोच्चतिर तानिएको छ । सर्वोच्चले सो मुद्दाउपर निकास नदिँदा संसदसमेत बन्धक छ ।

आज संयुक्त इजलासको सुरूमै रहेकाले सो मुद्दाको सुनुवाइ अघि बढ्ने देखिएको छ । एमाले अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएकोमा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् ।

एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका विमला वली र अजय शाहीलाई निष्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेकोमा एमाले अदालत गएको हो । एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी खोलेका छन् । कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रूपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।