मौसम विभाग भन्छ: आउँदो २४ अत्यन्तै खतरा छ - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

मौसम विभाग भन्छ: आउँदो २४ अत्यन्तै खतरा छ



काठमाडौं- मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ नजिकै रहेको र भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज (बुधबार) देशभरकै मौसम बदली हुने मौसमविदले बताएका छन् ।

अहिले पनि देशभरि कै मौसम सामान्य बदली भइ कञ्नपुर, डडेलधुरा, डोटी, कैलाली, बर्दिया, अछाम, सुर्खेत आसपास पानी परिरहेको छ । यी ठाउँमा पानी पर्न कम भए पनि आजको मौसम पूर्ण रुपमा भने नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (बुधबार) देशका धेरै स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेकाले आउँदो २४ घण्टा (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म) सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।

महाशाखाले जारी गरेको २४ घण्टे चेतावनी तथा परामर्शमा भनिएको छ– बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बबई नदीमा विहानै बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन आग्रह
बर्दियाको बबई नदीमा आज (बुधबार) विहानैदेखि ठूलो बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले बर्दिया, कैलालीको चिसापानी र टीकापुर तथा कञ्चनपुरका केही ठाउँमा राति ठूलो पानी परेको र अहिले पनि पर्ने क्रम चलिरहेको भन्दै दिउँसो १२ बजेसम्म नै बबईसहित कान्द्रा, मोहना, खुट्टिया, स्याउली, चौधर लगायतका नदीमा एक्कासि बाढी आउने भएकाले तटीय क्षेत्र र डुबान भइरहने ठाउँका बासिन्दालाई सुरक्षित बस्न अनुरोध गरेको छ ।

यस्तै डडेलधुराको रंघुन–पन्टुरागाड नदी जलाधारमा राति निकै ठूलो पानी परेकाले महाकाली दोभानसम्मको क्षेत्रमा ठूलो बाढी आउने भएकाले बिहान १० बजेसम्म नै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हेर्नुस् मौसम पूर्वानुमान