अमेरिकी सैनिक जनरल आज नेपाल आउँदै, किन आउँदैछन् उनी ? - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

अमेरिकी सैनिक जनरल आज नेपाल आउँदै, किन आउँदैछन् उनी ?



काठमाडौं- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदै छन्। जनरल फ्लिन बिहीबार बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रनेछन्। शुक्रबार उनले सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाबाट चारतारे जनरलको नेपाल भ्रमण हुन लागेको हो। सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्र प्रमुख रहेका उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका माइकल टी फ्लिनका भाइ हुन्।

सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल फ्लिनको सद्भावना भ्रमण रहेको बताए। सैनिक मुख्यालयमा जनरल फ्लिनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ । त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फ्लिनले भेटवार्ता गर्नेछन्। बेलुकी प्रधानसेनापति शर्माले जनरल फ्लिनको सम्मानमा रात्रिभोज गर्दै छन् ।

जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने कार्यक्रम छ । उनी सगरमाथा आधार शिविर जाने र त्यस क्षेत्रमा रहेको एभरेस्ट भ्यु होटलमा बिहानको खाना खाने तयारी छ। जनरल फ्लिनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्नेछन ।

यसबीचमा जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ । त्यस विषयमा परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको प्रवक्ता सिलवालले जानकारी दिए।