यी हुन् कोरोनाको सबैभन्दा बढी जोखिम भएका चार जिल्ला - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

यी हुन् कोरोनाको सबैभन्दा बढी जोखिम भएका चार जिल्ला



काठमाडौं- सरकाले देशका चार जिल्लालाई कोरोना संक्रमणको दृष्टिले ‘हटस्पट’ क्षेत्र घोषणा गरेको छ।

सर्लाही, रौतहट, कपिलवस्तु र दैलेख जिल्लालाई सरकारले कोरोना संक्रमणको अति जोखिमयुक्त क्षेत्रको रुपमा सूचित गरेको हो।

१ असारबाट देशैभर लकडाउन खुकुलो बनाएको सरकारले यी चार जिल्लालाई भने कोरोना ‘हटस्पट’ जिल्ला घोषित गदै लकडाउनलाई अझ कडाई गरेको छ। जोखिम कम नभएसम्म यी चार जिल्लामा लकडाउन अझ कडाइका साथ लागू गर्ने निणर्य गृह मन्त्रालयले गरेको हो।

गृह मन्त्रालयले यी चार जिल्लामा तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्न निर्देशनसमेत दिएको छ। कोरोना संक्रमितको संख्या दुई सय भन्दा धेरै रहेका जिल्लालाई सरकारले अति जोखिम क्षेत्रमा रुपमा राखेको छ।

यी चार जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निणर्य नभएसम्मका लागि सुचारु नहुने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

यी चार जिल्लामा कोरोना संक्रमितको संख्या दुई सय भन्दा माथि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सर्लाहीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ सय २६ पुगेको छ।