२४ घण्टा नबित्दै ओली ‘ब्याक’: यस्तो भयो चार बुँदे नयाँ सहमति
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश २४ घण्टा नबित्दै फिर्ता लिन राजी भएपछि दुई अध्यक्षले नयाँ सहमति गरेका छन् ।
यो संगै संसद बैठक बोलाउनु पर्ने पक्षमा रहेको प्रचण्ड–माधव नेपाल समूहपनि आफ्नो अडानबाट पछि हटेको छ । ओलीले मंगलबार अध्यादेश ल्याएपछि प्रचण्ड नेपाल समूह संसद अधिवेशन बोलाउनका लागि दवाव दिन राष्ट्रपतिलाई नै हस्ताक्षर बुझाउन पुगेको थियो ।
तर बुधबार महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीच वालुवाटारमा भएको वार्तामा ‘ओलीले अध्यादेश फिर्ता लिने र प्रचण्ड–नेपाल समूह संसद बैठक बोलाउने अडानबाट पछि हट्ने’ सहमति भएको हो ।
मंगलबार ओलीले अध्यादेश ल्याएसँगै नेकपाभित्रको विवाद थप चर्किएको थियो भने ओली इतर समूहले ओलीको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको थियो । जसअनुसार दुई पक्षबीच विवादले चरम रुप लिएकै बेला बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो ।
नेकपाका ८३ जना सांसदसहितको हस्ताक्षर संसद अधिवेशनका लागि राष्ट्रपतिकहाँ बुझाइएपनि दर्ता भने भइसकेको छैन । आजै हस्ताक्षर दर्ता गरेर राख्ने र ओलीले अध्यादेश प्रक्रियाअनुसार फिर्ता लिएपछि हस्ताक्षर पनि फिर्ता लिने बताइएको छ ।
यस्ता छन् ओली र प्रचण्डबीच बुधबार भएको चार बुँदे सहमति
१.प्रचण्डको आरोपपत्र र ओलीको जवाफीपत्र फिर्ता हुने
२. संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने
३. संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर अभियान स्थगित हुने,
४. आगमी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लैजाने