चन्द्र भण्डारीले प्रचण्डलाई भने : मदन भण्डारीको ड्राइभरलाई किन मारेको ? - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

चन्द्र भण्डारीले प्रचण्डलाई भने : मदन भण्डारीको ड्राइभरलाई किन मारेको ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मदन भण्डारीका जीप चालक अमर लामाको हत्या गरिनुको कारण सोधेका छन् ।

शनिबार तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले हत्यारा खोज्न आग्रह गरेपछि कांग्रेस नेता भण्डारीले उनीमाथि प्रश्न तेर्स्याएका हुन् ।

‘‘मदन भण्डारीको हत्यामा भयानक षड्यन्त्र देख्ने पुष्पकमल दाहालले एक मात्र ‘चश्मदिद गवाह’ भण्डारीका चालक अमर लामाको किर्तिपुर चौबाटोमा माओवादीद्वारा हत्या किन ?,’’ नेता भण्डारीले ट्विट गर्दै प्रश्न गरेका छन् ।

शनिबारको कार्यक्रममा प्रचण्डले तत्कालीन पार्टी महासचिवसमेत रहेका मदन भण्डारीको हत्या भएको प्रष्ट रूपमा थाहा हुँदाहुँदै पनि हत्या भएको किटान गर्न नसकेको र हत्यारा को हो भन्न नसकेको भन्दै पूर्वएमालेतिर औँला तेर्स्याएका थिए । ‘‘कमरेड मदन भण्डारीको रहस्यमय अवशान किन भयो ? भोलि त्यस्तै हुँदैन भनेर हामीले ग्यारेन्टी किन गर्न सकिराखेका छैनौँ ?,’’उनको प्रश्न थियो ।

मदन भण्डारी र जीवराज आश्रितको हत्यारा भयानक डिजाइनमा भएको तत्कालीन एमालेका नेता कार्यकर्तालाई लागे पनि दोषी किटान गर्न नसकेको प्रचण्डको भनाइ थियो । उनले हत्यामा बचेका एकमात्र साक्षी अमर लामालाई पनि बचाउन नसकेको तर्क गरेका थिए ।

यद्यपि अमर लामालाई तत्कालीन नेकपा माओवादीकै कार्यकर्ताले कीर्तिपुरमा गोली हानी हत्या गरेको पुष्टि यसअघि नै भइसकेको छ ।