नौ दिनदेखि हराइरहेका चन्द्र कामीले प्रहरीलाई दिए यस्तो बयान - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

नौ दिनदेखि हराइरहेका चन्द्र कामीले प्रहरीलाई दिए यस्तो बयान



अपहरण गरिएको आशंका गरिएका हुम्लाका चन्द्रबहादुर कामी (चन्द्रे कामी) बुधबार भेटिएका छन् । २९ मंसिरदेखि हराइरहेका उनी हुम्लाकै खार्पुनाथ गाउँपालिकामा भेटिएका हुन् ।

उनले प्रहरीसँग आफू पाँच दिन जंगलमा बसेको बताएका छन् । हुम्लाका जंगलमा रहेका गोठहरुमा आगो बालेर आफू बसेको उनले प्रहरीलाई बयान दिएका हुन् ।

मल्ल थरकी एक युवतीसँग विवाह गरेकाले चन्द्र कामीलाई ती युवतीका माइती पक्षले लगेका थिए । त्यसपछि उनी सम्पर्कविहिन थिए । उनले विवाह गरेकी युवती चाहिँ माइतीमा भेटिएकी थिइन् ।

आफूलाई अपहरण नगरे पनि उनीहरुको डरले आफू जंगलमा लुकेर बसेको चन्द्र कामीले प्रहरीलाई बयान दिएका छन् ।उनलाई केटी पक्षका युवाहरुले घरबाट केही पर लगेपछि छोडेको उनले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लामा उनले बताएअनुसार उनको मोबाइल पनि ती युवाहरुले लगेका छन् । यसअघि उनीमाथि हातपात भएको अनुमान गरिएको थियो । तर, आफूलाई कसैले पनि नकुटेको उनले बताएका छन् ।

प्रहरीका अनुसार उनको शरीरमा पनि चोटपटकको कुनै निशान छैन । चन्द्रले चाहिँ आफू हुम्लाका ठान्ना र गुसा भन्ने लेकमा बसेको र त्यहाँका गोठामा आगो बालेर बसेको बताएका छन् ।

पछि आफू खार्पुनाथको सुनखाडा भन्ने बजारमा झरेर त्यहाँको होटलमा बसेको चन्द्रले बयानमा भनेका छन् । ५ मंसिरमा चन्द्रबहादुरले मुगुको सोरु गाउँपालिकाकी एक युवतीलाई भगाएर लगेका थिए ।

त्यसको २४ दिनपछि ती युवतीका माइती पक्षका युवाहरु आएर युवतीलाई फिर्ता लगेका थिए ।