चन्द्र भण्डारीको फरक शैलीको दशैं - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चन्द्र भण्डारीको फरक शैलीको दशैं



दशैंको टीकाको दिन शुक्रवार आम नेपालीलाई आफन्तको हातमा टीका थाप्ने दौडधूप थियो । तर, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई अर्कै चटारो थियो दशैंको दिनमा पनि ।

पछिल्ला तीन वर्षदेखि नेता भण्डारीको दशैं गुल्मीको बढीगाड नदीको आसपासमा बस्ने बोटे, माझी र कुमाल बस्तीमा हुने गरेको छ । दशैंको अवसरमा उनले शुक्रवार मात्र ५ सय ५५ विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) र स्टेसनरी सामान बाँडेका छन् ।

दशैंको टीकाको साइतमा उनी गुल्मीको रुरु गाउँपालिकाको लक्ष्मी निमावि र आटिपाटा प्राविमा रहेका बोटे माझीको बस्तीमा पुगेका थिए । छत्रकोट गाउँपालिकाको झेर्दी निवावि तथा चन्द्रकोट गाउँपालिकाको ज्ञानोदव मावि र बाल उद्यान प्राविका विद्यार्थीलाई भण्डारीले कपडा र स्टेसनरी सामग्री बाँडे ।

दरवार देवीस्थान गाउँपालिकाको नरहरी मावि तथा माझी प्राविका बालबालिकालाई लुगा र स्टेसनरी सामान बाँड्दै माझी बस्तीमै उनले टीका लगाए ।

‘नेपाल नमूना देश हुन्थ्यो, नेपालका नेताहरूले जे गर्दा पनि सिकेनन्, न जेल थुन्दा सिक्छन् न सत्तामा पुग्दा,’ भण्डारीले भने, ‘वरिपरि गरीब राखेर ठूलो महलमा बस्न रुचाउने नेताहरूबाट देश बन्दैन ।’

२०७० सालमा गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव जितेपछि भण्डारीले २०७३ सालदेखि माझी बस्तीमा दशैं मनाउन शुरू गरेका थिए । उनले आफ्नो तलब र भत्ता बोटे माझीका छोराछोरी पढाउनमा खर्च गर्ने बताएका थिए ।

‘आफन्तको हातबाट टीका लगाउन जान भ्याइन, माझी बस्तीमै रमाएँ,’ भण्डारीले भने, ‘दशैंमा गाउँमा जाने प्रत्येक परिवारले १ जना विद्यार्थीलाई शैक्षिक सामग्री लगिदिए मात्र पनि ५ वर्षमा गाँउमा आमूल परिवर्तन हुन्थ्यो ।’

कांग्रेस नेता भण्डारीले माझीका बालबालिका र महिलालाई टीका लगाएर जनही ५० रुपैयाँ दक्षिणा दिएका थिए । साथीभाइसँग चन्दा उठाएर भण्डारीले माझी बस्तीका महिलालाई समेत कपडा बाँडेका थिए ।