पवन चामलिङलाई सत्ताच्यूत गर्न मोदीको गठबन्धन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पवन चामलिङलाई सत्ताच्यूत गर्न मोदीको गठबन्धन



भारतको निर्वाचन आयोगले आइतबार (२६ फागुन) बेलुकी लोकसभा चुनावसँगै सिक्किमलगायत चार राज्यको विधानसभा चुनाव घोषणा गरेको छ।

निर्वाचन आयोगका अनुसार सिक्किममा आगामी अप्रिल ११ (२८ चैत) को दिन चुनाव हुनेछ। यसैदिन सिक्किममा एकैसाथ लोकसभा र विधानसभाको चुनाव हुनेछ।

मत गणना मे २३ (९ जेठ २०७६) को दिन हुनेछ। यसैदिन लोकसभा र अन्य तीन राज्यको चुनावको मतगणना पनि हुनेछ।

सन् १९९९ सालदेखि सिक्किममा विधानसभा र लोकसभाको चुनाव एकैदिन हुँदै आइरहेको छ। सिक्किमा विधानसभाका ३२ र लोकसभाका १ सीट छन्।

पवन चामलिङको नेतृत्वमा सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) ले सरकार गठन गरेपछि फर्केर हेर्न परेको छैन। लगातार पाँचपटक सत्ता हत्याएको एसडीएफले छैटौँपटक राज्यको सत्तामा बस्ने लक्ष्यका साथ केही महिनाअघि चुनाव प्रचार थालिसकेको छ।

शनिबार (२५ फागुन) मा मात्र एसडीएफका अध्यक्ष एवं राज्यका मुख्यमन्त्री पवन चामलिङले चुनाव तयारीको सिलसिलामा पार्टी कार्यकर्ता र पदाधिकारीहरू सभागी महत्त्वपूर्ण सभा गरेका थिए।

यसपछि उम्मेद्वार चयनका लागि चामलिङले आफ्नै नेतृत्वमा मन्त्रीत्रय डीडी भोटिया, जेएम गुरुङ र एसबी सुवेदी तथा पार्टीका प्रशासनिक उपाध्यक्ष निमथित लेप्चासहितको एक संसदीय समिति गठन गरेका छन्।

यसअघि सन् २०१४ मा भएको चुनावमा चामलिङ नेतृत्वको एसडीएफले २२ सीट जितेको थियो भने प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चाले (एसकेएम) ले १० सीटमा विजय हासिल गरेको थियो। पवन चामलिङको नेतृत्वमा सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) ले सन् ९९४ मा सरकार गठन गरेपछि फर्केर हेर्न परेको छैन।

आगामी निर्वाचनमा पनि सिक्किममा सत्तारूढ़ एसडीएफ र प्रमुख विक्षपी पार्टी एसकेएमबीच प्रमुख रूपले चुनावी भिड़न्त हुने देखिन्छ।

एसकेएमले एसडीएफलाई सत्ताच्यूत गर्नका लागि भारतीय जनता पार्टी (भाजपा) सँग गठबन्धन गर्ने पक्कापक्की भएको छ। यद्यपि एसकेएम र भाजपाबीच के कति सिटमा बाँडफाँट गर्ने भन्ने कुराको टुङ्गो लागेको छैन।

यी दुई पार्टीबीच सीट वितरण एक दुई दिनभित्र फाइनल हुने भाजपाका राष्ट्रिय महासचिव राम माधवले बताइसकेका छन्।

सत्तारुढ एसडीएफ आगामी दुई तीनभित्रले आफ्नो उम्मेद्वार घोषणा गर्ने सम्भावना छ।