वर्षौँपछि राज्यको खाता नाफामा - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

वर्षौँपछि राज्यको खाता नाफामा



काठमाडौं- विदेशबाट मुलुक भित्रने रेमिट्यान्स र पेन्सन रकम बढ्दा करिब तीन वर्षपछि पहिलोपटक मुलुकको चालू खाता धनात्मक भएको छ। पछिल्लो तीन वर्षको अवधिमा हरेक महिना यो खाता ऋणात्मक रहने गरेको थियो।

चालू खातामा वस्तु तथा सेवाको आयात–निर्यात, रेमिट्यान्स, पेन्सन, अनुदानको आप्रवाह–बहिर्वाह हेरिएको हुन्छ । मुलुकको आयात उच्चदरमा घटेको तथा रेमिट्यान्स र पेन्सन रकम भित्रने दर बढेकाले पनि चालू खाता धनात्मक भएको राष्ट्र बैंकले जनाएको छ।

गत वर्षको पहिलो महिनाको तुलनामा रेमिट्यान्स रकम १७ अर्ब (२३ प्रतिशत)ले वृद्धि भएर ९२ अर्ब ७१ करोड पुगेको छ । गत वर्षको साउनमा ७५ अर्ब ४० करोड रेमिट्यान्स भित्रिएको खबर आजको नयाँ पत्रिकामा विजयराज खनालले लेखेका छन।

चालू आवको पहिलो महिनामा आयात २० प्रतिशतले घटेर ८५ अर्ब ८१ करोडमा सीमित भएको छ । गत सालको साउनमा १ खर्ब ६ अर्ब ७२ करोडको आयात भएको थियो।

त्यस्तै, पेन्सन आप्रवाह ३८ करोड अर्थात् ७ प्रतिशतले बढेर ५ अर्ब ६० करोड पुगेको छ । गत वर्ष विदेश भ्रमण जाने नेपालीहरू बढ्दासमेत सेवा क्षेत्र ऋणात्मक हुँदा चालू खातामा घाटा बढ्ने गरेको थियो । तर, चालू वर्ष यो क्षेत्रमा समेत सुधार देखिएको छ ।