छाडा पशुचौपाया नियन्त्रणका लागि कैलालीमा एक करोड रुपैयाँ बजेट विनियोजन - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

छाडा पशुचौपाया नियन्त्रणका लागि कैलालीमा एक करोड रुपैयाँ बजेट विनियोजन



कैलाली ।। कैलालीका १३ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तहले छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि ९७ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।

छाडा पशुचौपाया ठूलो समस्या बन्दै गएपछि नियन्त्रण गर्न कान्जी हाउस निर्माण, सामुदायिक वनभित्र तारजाली निर्माणबाट वैकल्पिक कार्य गर्न सो रकम विनियोजन गरिएको स्थानीय तहहरूले जनाएका छन् । छुट्याइएको रकमबाट खानेपानी, पराल, हेरालु लगायतमा खर्च गरिने जनाइएको छ ।

छाडा पशुचौपाया नियन्त्रणका लागि कैलालीको चुरे र मोहन्याल गाउँपालिकाबाहेक अरू सबै ११ वा स्थानीय तहले रकम विनियोजन गरेको बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका , गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाले १५ / १५ लाख रुपैयाँ विजियोजन गरिएको छ भने टीकापुर नगरपालिका , गौरीगंगा नगरपालिका ,भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले १० / १० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

त्यस्तै लम्कीचुहा नगरपालिकाले ११ लाख रुपैयाँ र कैलारी तथा बर्दगोरिया गाउँपालिकाले ५ / ५ लाख र जोशीपुर गाउँपालिकाले एक लाख ९७ हजार रकम विनियोजन गरेको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ स्थित सामुदायिक वनमा तारजाली निर्माण गरी छाडा पशुचौपाया नियन्त्रण गरिरहेको नगर प्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो । त्यस्तै गोदावरी नगरपालिकाले चार वटा वडामा रहेको सामुदायिक वनमा तारजाली लगाएर पशुचौपाया नियन्त्रणका लागि काम अघि बढाइसकेको नगरपालिका उपप्रमुख रत्ना कडायतले जानकारी दिनु भयो । कडायतका अनुसार ,”नगरपालिकाको चार वडामा झण्डै सात सय र नगरपालिकाले दीर्घकालीन योजनासहित बनाएको भल्कास्थित सामुदायिक वनमा दुई सय ५० वटा पशुचौपाया राखिएको छ ।

गौरीगंगा नगरपालिकाले विनियोजन गरेको रकम प्रत्येक वडामा रहेका सामुदायिक वनलाई जिम्मा दिएको नगर उपप्रमुख अञ्चला चौधरीले बताउनु भयो । नगरपालिकामा बसेको बैठकले प्रति वडाका सामुदायिक वनमा एक / एक लाख दिने र वनलेनै नगरपालिकाभित्र रहेका छाडा पशुचौपाया नियन्त्रण गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म चार वडाले काम गरेर भुक्तानी लगिसकिएको छ ।

टीकापुर नगरपालिकाले टीकापुर–५ स्थित रहेको सामुदायिक वनमा तारजाली गरेर झण्डै सात सय पशुहरू राखेको छ । नगरपालिकाले उपभोक्ता समितिलाई पशुहरूको हेरचाह, खानेपानी, पराल लगायतको व्यवस्था गर्न जिम्मेवारी दिएको जनाएको छ ।

घोडाघोडी नगरपालिकाले कान्जी हाउँस निर्माणमा रकम प्रयोग गरिरहेको नगरपालिकालका नगर प्रमुख ममताप्रसाद चौधरीले बताउनु भयो । उहाँले नगरपालिकाको पहलमानपुर, साडेपानी र सुखड बजारमा कान्जी हाउस निर्माणको काम अघि बढाइसकेको र घरमा पालेका पशुहरूमा ट्याग लगाउने काम पनि अघि बढाइने बताउनु भयो ।

लम्की नगरपालिकाले सामुदायिक वनमा तारजाली बनाएर सात सयभन्दा बढी पशुचौपाया राखेको जनाएको छ भने भजनी नगरपालिकाले भजनी–९, पच्मुडियामा गौशाला निर्माण गरी साढे तीन सय भन्दा बढी पशु राखेको र चार जना हेरालु राखेको नगरपालिकाकी उपप्रमुख छाया देवकोटाले जानकारी दिनुभयो ।

कैलारी गाउँपालिका, जानकी गाउँपालिकाले सामुदायिक वनमा तारजाली निर्माण गरी पशु व्यवस्थापन गरिरहेको, बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायालाई पहाड पठाउने काम र जोशीपुर गाउँपालिकाले कान्जी हाउस निर्माण गर्न लागेको जनाइएको छ ।