चौधरी ग्रुपको टेलिकम र हुवावेईबीच नयाँ सम्झौता : निःशुल्क भ्वाइस सेवा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

चौधरी ग्रुपको टेलिकम र हुवावेईबीच नयाँ सम्झौता : निःशुल्क भ्वाइस सेवा



काठमाडौं । चौधरी ग्रूपअन्तर्गतको सीजी टेलिकमले फोरजी सेवा विस्तारका लागि चिनियाँ कम्पनी हुवावेईसँग सम्झौता गरेको छ । सीजी टेलिकमले १० करोड डलरमा फोरजी नेटवर्क विस्तार गर्न हुवावेईसँग सहकार्य गरेको हो ।

सीजी टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवाको अनुमतिपत्र पाइसकेको छैन । प्राधिकरणका एक अधिकारीका अनुसार सीजीलाई मोबाइल लाइसेन्स दिनेबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट कुनै जवाफ आएको छैन । प्राधिकरणले बोर्ड बैठकबाट निर्णय गरेर तीन महीनाअघि नै मन्त्रालयसँग जवाफ मागेको थियो ।

सीजीले गत चैत १६ मा टर्कीको टर्कसेलसँग २५ अर्ब रुपैयाँ बराबरको प्राविधिक सहायता सम्बन्धी समझदारी गरेको थियो । उक्त सहयोग मोबाइलको फोरजी सेवा विस्तारका लागि उपयोग गर्ने सीजीको योजना छ । चिनियाँ कम्पनी हुवावेईसँग सीजीले फोरजी सेवाका लागि पूर्वाधार आपूर्तिको सहकार्य गरेको हो । पहिलो चरणमा फोरजी विस्तारका लागि २५ करोड डलर लगानी गर्ने योजना छ । प्राधिकरणबाट मोबाइल सेवाको अनुमतिपत्र पाएपछि आक्रामक रूपमा दूरसञ्चार क्षेत्रमा अगाडि बढ्ने योजना रहेको सीजीले बताएको छ ।

हाल नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइल सेवा दिइरहेका छन् । सीजी टेलिकमले निःशुल्क भ्वाइस सेवालाई मुख्य प्राथमिकतामा राखेको छ । यस्तै, अनलाइन भुक्तानी लगायत सेवा विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।