उपत्यकामा निषेधाज्ञा लगाउनेबारे तीन जिल्लाका सिडिओको छलफल
काठमाडौँ- काठमाडौँ उपत्यकाका तीन वटै सिडिओले संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) ले ५ सय संक्रमित नाघेका जिल्लामा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि यस्तो तयारी भएको हो ।
सीसीएमसीले सहरी क्षेत्रमा ५ सय सक्रिय सङ्क्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेलगत्तै उपत्यकाका तीन जिल्लाले यस्तो तयारीमा जुटेका छन् ।
यसअघि उपत्यकामा निषेधाज्ञा वा लकडाउन गर्दा तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहमतिमा गर्ने गरेकाले यो वर्ष पनि काठमाडौँ, भक्तपुर र ललितपुरले संयुक्त निर्णय गर्ने तयारी गरेको बताइएको छ ।
अहिले उपत्यकाका तीन वटै जिल्ला गरी ५ सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको छ ।