खारेज भयो ईश्वर पोखरेल नेतृत्वको सीसीएमसी - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

खारेज भयो ईश्वर पोखरेल नेतृत्वको सीसीएमसी



काठमाडौँ- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सरकारले खारेज गरेको छ । सीसीएमसी खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरिएको बताइएको छ ।

सरकारले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेपछि लागु भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार अब २०७७ साल वैशाख १६ गते मन्त्रिपरिषद्ले गठन गरेको सीसीएमसी र सीसीएमसी निर्देशक समिति कोरोनाको रोकथाम र नियन्त्रण गर्न नयाँ कानुन आएसँगै निष्क्रिय भएको छ ।

कानुन मन्त्री लिलानाथ श्रेष्ठका अनुसार अब कोरोना रोकथाम र नियन्त्रणको लागि सम्पूर्ण काम अध्यादेशअनुसार प्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले गर्नेछ । सरकारले कोभिड–१९ लाई नियन्त्रण गर्न सबैभन्दा पहिले २०७६ सालको अन्त्यमा उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

उक्त समितिको गतिविधि स्वास्थ्य सामग्री खरिदलगायत विवादमा आएपछि पोखरेलकै नेतृत्वमा अन्य नौ मन्त्रीहरु सहितको सीसीएमसी निर्देशक समिति गठन गरिएको थियो । उक्त निर्देशक समितिले पनि काम गर्न नसकेको भन्दै लगातार आलोचना भएपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नयाँ संयन्त्रण गठन गरेको हो ।