पर्यटनमन्त्री आलेसहित ९ जनाविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा
नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित ९ जनाविरुद्ध अदालतको अपहेलनाको मुद्दा दायर गरेका छन् ।
बुधवार सर्वोच्च अदालतमा सीईओ रेग्मीसहित जीवन घिमिरेले अदालतको अपहेलना भएको भन्दै मन्त्री आले, बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, सदस्य पद्मादेवी पौडेल, विप्लव पौडेल, डावाडीमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी र मन्त्रालयका सहसचिवसमेत रहेका सदस्य होमप्रसाद पौडेलविरुद्ध अपहेलनाको मुद्दा दायर गरिएको हो ।
रिजालको संयोजकत्वमा गठित सीईओ धनन्जय रेग्मीमाथिको छानबिन समितिले बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनले अदालतको मानहानी गरेको दाबीसहित रेग्मी र घिमिरेले अदालतमा मुद्दा दायर गरेका हुन् ।
आर्थिक अनियमितता र मानवतस्करीमा मुछिएका रिजालको संयोजकत्वमा बनेको समितिले गरेको छानबिन प्रतिवेदन गत पुस १४ गते अदालतले दिएको अन्तरिम आदेशविरुद्ध रहेको निष्कर्षसहित रेग्मी र घिमिरेले मुद्दा दायर गरेका हुन् ।


