मेस्सीलाई रोकेपछि अब केनलाई रोक्ने यस्तो रणनीति - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मेस्सीलाई रोकेपछि अब केनलाई रोक्ने यस्तो रणनीति



क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले आफ्नो टिमले विश्वकपमा लियोनल मेस्सीलाई रोकिसकेकाले इंग्ल्याण्डका कप्तानलाई ह्यारी केनलाई पनि रोक्ने बताएका छन् ।

रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार राति क्रोएसियाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रुसलाई टाइब्रेकरमा हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराउँदै पछिल्लो २८ वर्षमा पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्न थालेको छ । क्रोएसियाले समूह चरणमा मेस्सीको टिम अर्जेन्टिनालाई ३–० ले हराएको थियो । त्यो खेलमा मेस्सीले गोल गर्न सकेका थिएनन् ।

क्रोएसियाका प्रशिक्षक डालिकले आफ्नो टिमले मेस्सीलाई रोकेर यसअघि नै मनोबल उच्च बनाएकाले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचिमा अघि रहेका केनको चुनौती पनि सामना गर्ने बताएका हुन् ।

डालिकलेका अनुसार मस्कोमा हुने सेमिफाइनलमा आफ्नो टिमका लागि इंग्ल्याण्डका केन र रहिम स्ट्रर्लिङ्ग स्पष्ट चुनौती हुन् । ‘तर हामीसँग हाम्रो बलियो पक्ष छ’, डालिकले भने, ‘हामी इंग्ल्याण्डसँग डराएका छैनौँ ।’

डालिकले अघि भने ‘उनी (केन) उच्च गोलकर्ता हुन्, उनलाई रोक्न सजिलो छैन । तर हामीसँग उत्कृष्ट सेन्टर–ब्याक छ । हामीले मेस्सी तथा क्रिष्टियन एरिक्सनलाई रोक्यौँ, आशा छ केनलाई पनि रोक्ने छौँ ।’