क्यान्सरका कारण छोराको मृत्युको दुई वर्षपछि , जुम्ल्याहा नाति–नातिनी
पुणे / एजेन्सी– भारतको पुणेकी एक महिलाका छोराको क्यान्सरका कारण मृत्यु भएको दुई वर्षपछि जुम्ल्याहा नाती प्राप्त गर्न उनी सफल भएकी छन् ।
पुणेकी ४९ वर्षीया शिक्षिका राजश्री पाटिलले एक सरोगेट आमाको सहयोगमा आफ्नो अविवाहित छोरा प्रथमेश पाटिलको वीर्य प्रयोग गरी जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।
प्रथमेशको मृत्यु हुनुअघि नै सुरक्षित राखिएको वीर्यबाट छोराको मृत्युको दुई वर्षपछि नाति र नातिनी प्राप्त गरेकी उनले आफूले छोरा फिर्ता पाएको प्रतिक्रिया दिएकी छन् । पुणेको सिंघड कलेजमा पढेर थप अध्ययनका लागि राजश्रीका छोरा प्रथमेश सन् २०१० मा जर्मनी गएका थिए ।
सन् २०१३ मा उनलाई ब्रेन ट्युमर भएर खतरनाक स्तरमा पुगेको पत्ता लागेपछि वीर्य संरक्षित गरिएको थियो । सोही वीर्यको प्रयोग गरेर एक ३५ वर्षीय सरोगेट आमाले एक छोरी र एक छोरालाई जन्म दिएकी हुन् ।
राजश्री पाटिलले भनिन्, ‘मलाई मेरो प्रथमेश फिर्ता पाएजस्तै भएको छ । मेरो छोरो पढाईमा धेरै तेज थियो र जर्मनीबाट इन्जिनियरिङमा मास्टर डिग्री गरिरहेको थियो ।
सोही क्रममा चौथो स्टेजको क्यान्सर भएको पत्ता लाग्यो । डाक्टरले प्रथमेशलाई किमोथेरापीबाट उपचार सुरु गर्नुअघि वीर्य संरक्षण गरेर राख्न भएका थिए ।’
प्रथमेशले आफ्नी आमा र बहिनीलाई आफ्नो मृत्युपछि वीर्यको नमुनाको प्रयोग गर्न आग्रह गरेका थिए । यद्यपि, राजश्रीलाई त्यतिबेला पनि यसबाट बच्चा जन्मन सक्छ भन्नेमा विश्वस्त थिइनन् ।
मृत छोराको संरक्षित वीर्यलाई एक गैरपारिवारिक दाताको अन्डाणुसँग मेल गराएर एक नातेदारकै गर्भमा राखिएको थियो । २७ वर्षीय जवान छोराको संरक्षित वीर्यको प्रयोग राजश्रीले एक सरोगेट आमाबाट दुई नाति–नातिनी पाएकी हुन् ।
हजुरआमा बनेकी राजश्रीले बच्चाहरूलाई भगवानको आशीर्वाद भएको बताउँदै नातिको नाम छोरा प्रथमेश र नातिनीको नाम प्रिशा राखेकी छन् । आफ्नो छोरा ‘फिर्ता पाउनका लागि’ राजश्री जर्मनीसम्म पुगिन् ।
उनले जर्मनीमा गएर छोराको वीर्य प्राप्त गर्नका लागि सबै औपचारिकता पूरा गरिन् र फिर्ता आएर पुणेको सह्याद्री अस्पतालमा आईभीएफको सहयोग लिइन् ।
अस्पतालकी आईभीएफ विशेषज्ञ डा. सुप्रिया पुराणिक भन्छिन्, ‘आईभीएफ हाम्रा लागि दैनिकीजस्तै हो तर यो घटना अनौठो थियो, यसमा यस्ती आमाको भावना जोडिएको थियो, जो कुनै पनि मूल्यमा आफ्नो छोरालाई फिर्ता पाउन चाहन्थिन्, पुरै गर्भावस्थाको समयमा राजश्रीको भूमिका धेरै सकारात्मक रह्यो ।’