सन्दीपले क्यानडामा देखाए खेलको जादु - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सन्दीपले क्यानडामा देखाए खेलको जादु



काठमाडौं  । सन्दीपलामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा अर्को सानदार प्रदर्शन गरेका छन् । उनको प्रदर्शनपछि मोन्ट्रियल टाइगर्सले चौथो खेलमा आएर पहिलो जित हात पारेको छ । मोन्ट्रियलले बुधबार इडमोन्टन रोयल्सलाई १५ रनले हराएको हो ।

सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १६ रनमात्र खर्चेर १ विकेट लिए । टोरन्टोमा भइरहेको प्रतियोगितामा सन्दीपले भ्यानकोभर नाइटसँग ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर १ विकेट लिएका थिए । वेस्ट इन्डिज ‘बी’ सँग २ विकेटले पराजित खेलमा निकै महँगा साबित सन्दीपले ४ ओभरमा ५७ रन खर्चेर १ विकेट लिएका थिए ।

टस हारेर ब्याटिङ गर्न आएको मोन्ट्रियलले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सकेको थियो । टोलीका अस्ट्रेलियन खेलाडी हेनरिक मोइसेसले ५०, नाजिबुल्लाह जाद्रानले नटआउट २२ र सिकन्दर राजाले २० रन बनाएका थिए । इडमोन्टनका वायने पार्नेलले ३ विकेट लिए ।

तेस्रो ओभरमै मोट्रियलका कप्तान लासिथ मालिङ्गाले सन्दीपलाई बल थमाएका थिए । उनले पहिलो ओभरमै आफ्ना कप्तान र टोलीलाई निराश बनाएनन् । सन्दीपले पहिलो ओभर नै मेडन फाल्ने क्रममा वेस्ट इन्डिजका ब्याट्सम्यान एन्ड्रयु फ्लेचरलाई ९ रनमा बोल्ड गरेका थिए । सन्दीपले पछिल्लो खेलमा पनि आफ्नो पहिलो ओभर विकेट मेडन फालेका थिए । त्यसपछि ३ ओभरमा सन्दीपले १६ रनमात्र खर्चेका थिए । खेलभर सबैभन्दा किफायती बलिङका लागि सन्दीपलाई क्याप प्रदान गरिएको थियो ।