स्ववियुद्वारा क्याम्पस बस संचालनका लागि माग राख्दै ध्यानाकर्षण पत्र - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

स्ववियुद्वारा क्याम्पस बस संचालनका लागि माग राख्दै ध्यानाकर्षण पत्र



गोविन्द बीसी
बौनिया ,कैलाली । स्वतन्त्र विद्यार्थी युनियन लम्की बहुमुखी क्याम्पसले बस संचालनको माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन लम्कीका पदाधिकारी सहित ३० जना विद्यार्थीको टोलीले सोमबार कैलालीको लम्कीचुहा नगरपालिका कार्यकारी अधिकृत दशरथ बुढालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गत आर्थिक वर्षको नगरपरिषदबाट क्याम्पस बस संचालन शीर्षकमा योजना पारीत गरिएको भएपनि हालसम्म बस उपलब्ध नभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

तत्काल माग सम्बोधन नभए सशक्त अान्दोलनमा जाने स्ववियुले चेतावनी समेत दिएको छ । नगरपालिकाले बस खरिद प्रक्रियाका लागि गएको भाद्र १७ गते टेण्डर समेत आव्हान गरेको थियो । खरिद प्रक्रिया थालिएको ३ महिना बितिसक्दा समेत उपलब्ध नभएपछि ध्यानाकर्षण पत्र पेश गरिएको स्ववियु सभापति ललित जैशीले बताए ।

‘नगरपालिकाले बस उपलब्ध गराउछौं भनेको दुई बर्ष हुन थालिसकेको छ । के कारणले उपलब्ध हुन सकेन जैशीले भने ।’ अहिले फेरि तीन महिना भैसकेको छ । प्रक्रियामा छ मात्रै भनिएको छ । शैक्षिक वर्षको भर्ना सकिएर कक्षा संचालन भैसक्दा समेत अन्यौल भएकाले नगरपालिकाको ध्यानाकर्षण गरिएको हो ।

क्याम्पसमा बस संचालनमा आए धेरै विद्यार्थीलाई पठनपाठनमा सहज हुने बताइएको छ । निर्वाचन क्षेत्र नम्बर-२ को एकमात्रै सामुदायिक क्याम्पस लम्की बहुमुखीमा हाल ६ सय विद्यार्थी अध्ययनरत रहेकोे जैशीको भनाइ छ ।

क्याम्पसमा बस सेवा संचालन नहुदा लम्किचुहा क्षेत्रबाट करीब २५ किलोमिटर टाढा सुखडसम्म विद्यार्थी अध्ययन गर्न जाने गरेका छन् ।