ओली र प्रचण्ड सहमति लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइयो: के होला निर्णय ?
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
मन्त्रिपरिषद् पुनर्गठनको चर्चा भइरहेका बेला बेला प्रधानमन्त्रीले बोलाएको बैठकलाई अर्थपूर्ण मानिएको छ। मन्त्रिपरिषद् बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।
मन्त्रिपरिषद् पुर्नगठन चर्चा चलिरहेको अवस्थामा बिहीबार बिहान दुई अध्यक्षबीच भएको भेटवार्तापछि बोलाइएको बैठकबारे चर्चा सुरू भएको छ । दुई नेताबीचको भेटावार्ता मन्त्रिपरिषद् पुनर्गठनमै केन्द्रित रहेको स्रोतले जनाएको छ।
दुई नेताबीचको भेटवार्तामा हालका केही पुराना मन्त्रीहरुलाई बिदा गरेर नयाँ मन्त्रीलाई अवसर दिनेबारे कुराकानी भएको बताइएको छ। यसअघि मंगलबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठन अघि बढाउने निर्णय गरेको थियो।
अहिले सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्रालय खाली रहेका छन्। यी दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैंले लिएका छन्। केही दिनअघिको सचिवालय बैठकले स्थायी कमिटीको निर्णयअनुसार मन्त्रिपरिषद् पुर्नगठन गर्ने निचोड निकालेको थियो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। यो बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बतायएको छ।