केन्द्र र प्रदेशका मन्त्रिमण्डल १५ दिनभित्र पुनर्गठन हुने - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

केन्द्र र प्रदेशका मन्त्रिमण्डल १५ दिनभित्र पुनर्गठन हुने



काठमाडौँ – लामो स्थगनपछि शुक्रबार बसेर सकिएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक विभिन्न निर्णय र निर्देशन गर्दै अन्त्य भएको छ ।

विष्णु पौडेल नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदनमाथि आधारित रहेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल गर्दै विभिन्न निर्णय गरिएको हो ।

जसअनुसार १५ दिनभित्र केन्द्र र प्रदेशहरुको मन्त्रिपरिषद पुनः गठन गर्न बैठकले सरकारलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद् पुनःगठनको सम्बन्धमा विषय मात्र उल्लेख भएकाले त्यसलाई १५ दिनभित्र गर्न स्थायी कमिटीले सुझाव दिएको हो।

अध्यक्षद्वयले ल्याएको प्रस्तावलाई शुक्रबार वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरुले व्यक्त दिएको सुझावलाई समेत समेटर अन्तिम रुप दिने गरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपाका एक स्थायी समिति सदस्यले मन्त्रिपरिषद् पुनः गठनबारे सैद्धान्तिक विषय मात्र समेटिएकाले १५ दिनभित्र गरिसक्ने गरी प्रतिवेदनलाई पारित गरेको जानकारी दिएका छन् ।

ओली दाहालले पेश गरेको प्रस्तावमा मन्त्रीपरिषद पुनर्गठन र राजनीतिक नियुक्ति गर्दा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गरी त्यसैअनुसार गर्ने उल्लेख छ।

त्यस्तै स्थायी समितिले नेताका नाउमा गठन विभिन्न प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थाहरु गुटबन्दी गर्ने थलो भएको निष्कर्ष निकाल्दै त्यसबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय समेत गरेको छ।