नेपाल प्रहरीले सुन ब्यापारी 'अपहरण' गरेको युपी सरकारको आरोप - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेपाल प्रहरीले सुन ब्यापारी ‘अपहरण’ गरेको युपी सरकारको आरोप



नयाँ दिल्ली। नेपाल प्रहरीले भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट एक सुनचाँदि व्यवसायीलाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै उत्तरप्रदेश सरकार नेपालसँग असन्तुष्ट भएको छ।

२८ सेप्टेम्बरमा राजधानी लखनउको मडियाव थाना क्षेत्रबाट एक सुन व्यवसायी अपहरणमा परेका थिए। उनको उत्तरप्रदेश प्रहरीले किडन्यापिङ मुद्दामा सो विषयलाई दर्ता गराएको थियो। तर पछि यो  अपहरण नभई एउटा छुट्टै विषयमा नेपाल प्रहरीले उनलाई पक्राउ गरेर लगेको विषय बाहिर आएपछि भने उत्तर प्रदेशका उच्च सुरक्षा अधिकारी र अन्य सरोकार वालाहरु समेत अचम्ममा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

नेपालमा एक सामुहिक हत्याकाण्डको मामलामा नेपाल प्रहरीले ती व्यापारीलाई अनुसन्धानको लागि पक्राउ गरेको भारतीय उत्तर प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए। यो विषय जानकारीमा आएपछि उत्तरप्रदेश सरकारले गम्भीर असन्तुष्टि जनाएको छ। ती व्यवसायीले भारत सरकारसँग आफूलाई शरण दिनको लागि गुहार मागेका थिए। भारत सरकारले कुनैपनि विषयमा अनुसन्धान नगरी ती व्यापारीलाई शरण दिएको थियो।

उत्तर प्रदेश सरकारका कानून मन्त्रीको यो अभिव्यक्तिपछि नै यो विषय बाहिर आएको हो। कानूनमन्त्री वृजेश पाठकले रिसाएको शैलीमा नेपाललाई आफ्नो दायरामा रहन चेतावनी दिएका छन्। उनले भने, ‘नेपाल र भारत दुबै साथी साथी मुलुकहरु हुन्। दुबै मुलुक एक अर्काप्रति जिम्मेवार हुनु पर्छ। दुबै मुलुकले दुबै मुलुकको कानून पालना गर्नुपर्छ। कुनै पनि देशबाट सो देशको अनुमति विना यसरी शरणमा आएका व्यक्तिलाई उठाएरलैजानु कानूनी कुरा भने होईन।’

के भन्छन् एसएसपी 
लखनउको यो घटनाबारे एसएसपी कलानिधि नैथानीले नेपाल प्रहरीले यसरी उनलाई पक्राउ गरेर लगेको विषय सिसिटिभी फुटेजमा देखिएको बताएका छन्। उनले भने, ‘भिडियोमा नै यी सबै देखिएकोले प्रमाणको बढी आवश्यकता नपर्ने भन्दै सेतो रंगको स्विफ्ट कारमा सवार केही व्यक्तिले ती व्यवसायीलाई उठाएर लगेको हो।’  उनले यसरी नेपाल प्रहरीले अपहरण गरेको व्यक्तिलाई तत्काल फिर्ता गर्नको लागि पत्र समेत लेखेको बताए।

भारत सरकारले दिएको थियो शरण
व्यवसायी किशोर लालका छोरा विकास सोनीले भारत सरकार समक्ष यस विषयमा हस्तक्षेपको माग गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह तथा विदेश मन्त्री सुषमा स्वराजसमक्ष समेत निष्पक्ष जाँचको लागि आग्रह गरेका छन्। सोनीले आफ्ना पिता नेपाल प्रहरीको हिरासतमा रहेको बताए।