व्यापार घाटा अझै बढ्ने मातृका यादवको खुलासा - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

व्यापार घाटा अझै बढ्ने मातृका यादवको खुलासा



काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्।

मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तबसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्टयाएका हुन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुकभित्रै रहेको दाबी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यकता पनि औंल्याए। नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाइ छ।

‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौँ,’ मन्त्री यादवले भने, ‘सहकार्य गर्नतिर बढी कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ।’

उनले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिन्छ तर बढी जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने पनि पटकपटक दोहोर्‍याए। मन्त्री यादवले देशभित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भइरहेको पनि स्पष्ट पारे। उनले सबैभन्दा महँगो गाडी चढ्ने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भइरहने तर्क पनि गरे।