ब्यालेटको लडाईं हार्ने छुट माओवादीलाई छैन: प्रचण्ड - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

ब्यालेटको लडाईं हार्ने छुट माओवादीलाई छैन: प्रचण्ड



सुर्खेत, भदौ १०
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई ब्यालेटको लडाईं हार्ने छुट नभएको बताएका छन्। शुक्रबार सुर्खेतमा प्रदेश नम्बर ६ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै हार्ने छुट नभएको बताएका हुन् ।

प्रदेश ६ का अगुवा कार्यकर्तालाई सुर्खेतमा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘वर्गसङ्घर्ष अहिले ब्यालेटमा छ, त्यसको मुख्य केन्द्रबिन्दु ६ नम्बर प्रदेश नै हो। यो प्रदेश र हाम्रा जनप्रतिनिधिले जितेका गाउँपालिका र नगरपालिकालाई नमूना बनाउनुहोस्। संगठन बाहेक क्रान्तिकारी पार्टीको अर्को कुनै हतियार छैन। संगठन नै हाम्रो मुख्य शक्ति हो, यसले बुर्जुवा वर्गलाई परास्त गर्न सकिन्छ, संगठनको बलले नै ब्यालेटको लडाईं जितिन्छ, यो लडाई हार्ने छुट माओवादीलाई छैन।’

प्रचण्डले मधेस माओवादीमय बन्दै गएको दाबी गर्दै मधेसको पक्षमा लड्ने शक्ति माओवादी नै भएको बताए। ‘विकास र समृद्धिमा माओवादी नै अब्बल छ। १० महिनामा मैले सम्पूर्ण शक्ति देशका लागि खर्च गरें। त्यो बेला देशले ठूलै परिणाम पायो, लोडसेडिङ हट्यो, आर्थिक विकास ह्वात्तै बढ्यो, संविधान कार्यान्वयन भयो, स्थानीय तह बन्यो, छिमेकीसँग सन्तुलित सम्बन्ध बन्यो, स्थानीय चुनाव भयो, यो सबै सामान्य मेहेनतले भएको कुरा होइन,’ प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले सामाजिक काम र जनताका अपेक्षामा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘माओवादी नेता, कार्यकर्तामा सामाजिक चरित्र हुन सकेन, बिहेमा जन्त जाँदैनन्, मर्दा मलामी जाँदैनन्, अप्ठ्यारो पर्दा भेट्दैनन्, जनताका गुनासा सुन्दैनन् भन्ने गुनासो छ। यसलाई हामीले सच्चाउनै पर्छ। सामाजिक छवि र चरित्र बनाउनु पर्छ।’