बुटवल अपडेट: कर्फ्यु कायम, सुरक्षा समितिको बैठक बस्दै - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

बुटवल अपडेट: कर्फ्यु कायम, सुरक्षा समितिको बैठक बस्दै



बुटवल – बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु कायम नै छ । आइतबार स्थानीय र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रणमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको छ भने कैयौँ घाइतेको उपचार भैरहेको छ ।

झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो चार बजेदेखि अनिश्चितकालका लागि मोतीपुरमा कर्फ्यु लगाएको छ । त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।

हिजो मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भए पछि गोली चलाएको प्रहरीले जनाएको छ । झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ ।

झडपमा पाँच जना प्रहरीसहित कैयौं जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ । यस्तै, ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ । अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीय बासिन्दा प्रहरीमाथि जाइलागेका थिए ।

प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।