बुटवल अपडेट: प्रहरीको गोलीबाट ३ को मृत्यु, २० घाइते, अनिश्चितकालिन कर्फ्यु आदेश
काठमाडौं-रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा तीन जनाको मृत्यु भएको छ । स्थानीय र प्रहरीबीच झासप हुँदा २० जना घाइते बनेका थिए । घाइतेमध्ये ३ जनाको मृत्यु भएको छ ।
भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो ।
अस्पतालका का अनुसार अस्पतालमा ५ जना प्रहरी र ८ जना सर्वसाधारण घाइते आएका थिए । तीमध्ये तीन जना अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । अस्पताल आएकामध्ये अझै एक जना गम्भीर घाइते छन् ।
जग्गा कब्जा गरी बसेका र प्रहरीहरूबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो । उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतवार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतवार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।
किन भयो मोतिपुर तनावग्रस्त ?
औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। सो जग्गा अतिक्रमण गर्न साविक लुम्बिनीका विभिन्न जिल्लाबाट स्थानीय बुटवल आएको प्रहरीले जनाएको छ।
अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ। जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए।
करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो। विसं २०७२ चैत १ गते मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो।
बुटवल उप-महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो।
औद्योगिक क्षेत्रको जग्गामा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।
प्रशासनले तीन दिनदेखि राति टहरा भत्काउँदै आएको थियो। अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।