बुटवल–बेलहिया ६ लेन सडक :भदौ भित्र सक्ने - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

बुटवल–बेलहिया ६ लेन सडक :भदौ भित्र सक्ने



अभियान /रूपन्देही। बुटवल–बेलहिया व्यापारिक मार्गको निर्माण आउँदो भदौभित्र सक्नेगरी काम भइरहेको छ ।

राष्ट्रिय महŒवको ६ लेनको यो सडक हालसम्म बुटवलदेखि मणिग्रामसम्म र बेलहियादेखि भैरहवाको विद्युत् कार्यालयसम्म निर्माण सम्पन्न भएको छ । व्यापारिक मार्ग विस्तार परियोजनाका इञ्जिनीयर गोविन्द श्रेष्ठले सडकको ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको बताए ।

निर्माण भएको कुल सडक १३ दशमलव ५ किलोमिटर हो । बुटवल–बेलहिया सडक २७ दशमवल ५ किलोमिटर छ । सडक निर्माणमा टीएसआईएल भारतीय कन्ष्ट्रक्सन, बिरुवा श्रेष्ठ एपेक्स जेभी र कालिका रायमाझी जेभीले काम गरिरहेका छन् । चारओटा प्याकेजको ठेक्का सम्झौता असार मसान्तसम्म छ । निर्मार्णाधीन स्थान भलबारीमा पनि करीब १ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

५ वर्षमा सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०६८/६९ मा २ लेनको सडक ६ लेनमा विस्तार शुरू भएको थियो । परियोजनाका लागि २ लाख ९० हजार ८ सय १९ घनमिटर नदीजन्य सामग्री आवश्यक पर्ने बताइएको छ, जसमध्ये ७० हजार घनमिटर निर्माण सामग्री उत्खनन गर्न जिल्ला समन्वय समितिले अनुमतिसमेत दिएको छ । परियोजना प्रत्येक वर्ष विनियोजित बजेटको ९५ प्रतिशत रकम खर्च गर्न सफल भएको छ ।

बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्म (३ दशमलव ५ किमी) सडक खण्डको थप कार्य पनि हाल परियोजनाले विस्तार गर्ने जिम्मा पाएको छ । ४ लेन रहेको राजमार्ग चौराहा–गोलपार्क सडक डिभिजन कार्यालयले २ वर्ष अगाडि मात्र निर्माण गरेको थियो । बुटवल–बेलहिया परियोजनाको कुल लागत रू. ५ अर्ब ८६ करोड छ । अहिलेसम्म ३ अर्ब ६५ करोड रुपैयाँ खर्च भइसकेको इञ्जिनीयर श्रेष्ठले बताए ।

परियोजना प्रमुख जीवेन्द्र मिश्रले समयमै सम्पन्न गर्नेगरी काम गर्न ठेकेदार कम्पनीहरूलाई समय–समयमा सचेत गराउँदै आएको बताए ।

निर्माण सम्पन्न भएको क्षेत्रमा तिलोत्तमा नगरपालिकाले हरियाली अभियान शुरू गरेको छ । बुटवल गोलपार्कको सडक विस्तार गर्न पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने गरी फैसला गरेको छ । यो सडकको पनि अब काम शुरू गर्ने परियोजनाको भनाइ छ । यस सडकमा पर्ने ३ सय ११ घर नभत्काउन माग गर्दै यहाँका घरधनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।