बिहानै यात्रुले भरिएको बस त्रिशूलीमा खस्यो- यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बिहानै यात्रुले भरिएको बस त्रिशूलीमा खस्यो- यस्तो छ पछिल्लो अवस्था



काठमाडौं -धादिङको गजुरी नजिकैबाट यात्रुबस त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको हो । बस आधा त्रिशूली नदीमा डुबेको अवस्थामा छ ।

दुर्घटनामा परी मृत्युु भएकामध्ये चार जनाको शव निकालिएको छ । मृतकमध्ये २ जना महिला, २ जना पुरुष छन् । एक जनाको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य दुईको सनाखत भएको छैन ।

घाइते २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइदै छ भने अन्य घाइतेको गजुरी, आदमघाट र गल्छीका अस्पतालहरुमा उपचार भइरहेको छ ।

घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।