बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
कम्पला । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेकोे छ ।
अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ ।
यसअघि युगाण्डा बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका थिए ।
युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ ।
युगाण्डाको लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायीमाले जानकारी दिए ।
पूर्वी अफ्रिकी मुलुक युगाण्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि दुई हजार जनाको मृत्यु हुने गरेको पाइन्छ ।