बस दुर्घटना:१७ घाइते, ४ को अवस्था गम्भीर - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बस दुर्घटना:१७ घाइते, ४ को अवस्था गम्भीर



लहान : सप्तरीको खडक नगरपालिका ६ कल्याणपुर बजार नजिक बिहीबार अपरान्ह भएको बस दुर्घटनामा १७ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए। गम्भीर घाइते भएका चार जनालाई स्थानीय एडभान्स सुरक्षा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए।

गम्भीर घाइते भई धरान पठाइएका हरूमा कास्की पोखरा महानगरपालिका १९ बस्ने ५२ वर्षीया देवरुपा गिरी, चितवन भरतपुर महानगरपालिका २ की २४ वर्षीया सबुना गजुरेल पराजुली, मोरङ कटहरी गाउँपालिका २ की ४६ वर्षीया पूर्ण कुमारी श्रेष्ठ, बेलबारी नगरपालिका ९ का २१ वर्षीय मनोज खवास रहेका छन्। धरान पठाइएका गिरीको ढाड, गजुरेलको दाहिने हात, श्रेष्ठको निधार र बायाँ कुम, श्रेष्ठको बायाँ खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये १३ जनालाई सामान्य चोटपटक मात्र लागेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका अन्य घाइतेहरू सुनसरी इनरुवा नगरपालिका १ का ३५ वर्षीय जीवन कुँवर, भारत सुपौल बस्ने २० वर्षीय अरुण कुमार यादव, मोरङका १२ वर्षीय समिर खवास, झापा मेची नगरपालिका ९ का ३० वर्षीय अमित थापा रहेका छन्। त्यस्तै, मेची नगरपालिका ९ की २१ वर्षीया निशा थापा, कास्की पोखरा महानगरपालिका ९ का ३२ वर्षीय केशव गुरुङ, ७५ वर्षीय प्रमोद दास, ३ का २८ वर्षीय मनोज गुरुङ, १५ का २७ वर्षीय दिलीप गुरुङ, ३२ वर्षीय सुरेश गरबुजा, २४ वर्षीय दीपक उप्रेती रहेका छन्।

दुर्घटनामा तनहुँ बेलबारी बस्ने ३८ वर्षीया सीता कुमारी, भारत नरकोल असाम बस्ने ६२ वर्षीया सरस्वती घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरू अधिकांशको ढाड, नाक, हात, खुट्टा, निधार, छाती, घाँटीमा सामान्य चोटपटक लागेको छ। पोखराबाट काँकडभिट्टातर्फ गइरहेको ना. ५ ख ६९४२ नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकको उत्तरपट्टी पल्टिँदा दुर्घटना भएको हो। बस दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।