फेरी खस्यो त्रिशूली नदीमा बस, एक जनाको मृत्यु ! - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

फेरी खस्यो त्रिशूली नदीमा बस, एक जनाको मृत्यु !



रत्ननगर, चितवन- मुग्लिन-मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नंको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५० नंको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा परी बसमा सवार इच्छाकामना गाउँपालिका वडा नं ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए। गम्भीर घाइते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको हो।

गाडीमा सवार सोही गाउँपालिका वडा नं ४ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नं ३ का ५० वर्षीय रामबाबु श्रेष्ठ गम्भीर घाइते भएका छन्। श्रेष्ठको चितवन मेडिकल कलेज र सिलवालको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।

ट्रक र बस सडकबाट करिब ६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको छ। ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।