अमेरिकी दूतावासमा बम विस्फोट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अमेरिकी दूतावासमा बम विस्फोट



चीनको राजधानी बेइजिङस्थित अमेरिकी दूतावास बाहिर बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनाबारे विस्तृत विवरण नआए पनि अमेरिकी दूतावास रहेको क्षेत्र बाहिर विस्फोट भएको समाचार अन्तर्राष्ट्रिय मिडियाहरूले ब्रेक गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीले प्रत्यक्षदर्शीलाई उद्‍धृत गर्दै उक्त क्षेत्रमा विस्फोटको आवाज सुनिएको र ठूलो मात्रामा धुवाँको मुस्लो उडेको उल्लेख गरेको छ । प्रहरी तथा अमेरिकी दूतावासका अधिकारीले सूचना संकलन भइरहेकोले तत्काल केही भन्न नसकिने जनाएको एपीको समाचारमा उल्लेख छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आफ्नो शरीरमा ग्यास छर्किन खोजेकी ती महिलालाई प्रहरीले आत्मदाह गर्न खोजेको शंकामा अमेरिकी दूतावासबाहिरबाट नियन्त्रणमा लिएको ट्विट गरेको छ ।

घटनामा केही व्यक्ति घाइते भएको हुनसक्ने प्रत्यक्षदर्शीले बताएको पाकिस्तानको जिओ टिभीले जनाएको छ । चीनको युनटक्स अनलाइनले विस्फोट भएको भनिएको क्षेत्रको फोटो पोस्ट गरेको छ जहाँ धुवाँको मुस्लो उडेको देखिन्छ ।

हङकङ प्रि प्रेसले घटनाको भिडियो पनि राखेको छ जहाँ मानिसहरू मुस्लो उडेको क्षेत्र नजिकै कराइरहेको र यताउता दौडिरहेकोजस्तो देखिन्छ ।