'बुर्जुवा शिक्षा बहिष्कार गरौँ' भन्ने नेताका छोरा/छोरी युरोप अमेरिकामा उच्च शिक्षा हासिल गर्दै । - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

‘बुर्जुवा शिक्षा बहिष्कार गरौँ’ भन्ने नेताका छोरा/छोरी युरोप अमेरिकामा उच्च शिक्षा हासिल गर्दै ।



कर्ण अधिकारी नुवाकोट।

समय फेरियो माओवादीका नेताहरूको बिचार फेरिए।कोही माओवाद त्याग गरी नयाँ शक्ति बने भने कोही नेकपा बने आखिर जो जे जे बने पनि कम्युनिस्टका झुण्ड नै हुन रङ्ग मात्र बदलिएका हुन स्वाद भने एकै किसिमको छ।विभिन्न पार्टीको नाममा आफ्नो पद र प्रतिष्ठालाई स्थापित गराउन सबै लागी परेका छन्।मैले कयौँ पटक कम्युनिष्टका विषयमा कलम चलाउँदिन भनेर आफूलाई काबुमा राख्न खोजे तर जति खेर उनीहरूको व्यवहार सतहमा छर्लङ्ग देखिन्छ अनि आफूलाई कन्ट्रोल नै गर्न सक्दिन र लेख्न बाध्य हुन्छु।

कुनै बेला बुर्जुवा शिक्षाको काम छैन यसका विरुद्धमा जनवादी शिक्षा लागु गर्नु पर्छ भन्दै तत्कालीन माओवादीले साना साना ५/७ कक्षामा पढ्ने भाइ बहिनीहरूलाई किताबको ठाउँमा बम बारुद र हतियार थमाएका थिए।आज समय फेरियो १० बर्से जनयुद्ध रोकियो।नेपाललाई सिङ्गापुर र स्वीजरल्याण्ड बनाउँछु भन्ने माओवादीका बागडोर सम्हाल्नेहरूलाई २०७० सालको संविधान सभा चुनावमा जनताले पाखा लगाई दिए।जसको परिणाम २०७४ सालको प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठबन्धन गर्ने नाममा कमरेड प्रचण्ड लगायतका नेताहरूले माओवादी केन्द्रलाई विसर्जन गरे।आज हामीले माओवादी केन्द्र खोइ भन्दा इतिहासको पानामा मात्र सीमित भएको पाउँदछौ।जनतालाई थर्कमान बनाएको माओवादी अन्त्यमा आफै थर्किएर विलय भई दियो।

हिजोका दिनमा किताब कलम फ्यालेर जनयुद्धमा होमिएका भाइ बहिनीहरू आज युवा भई सकेका छन्।आज उनीहरू सँग न त शिक्षा छ न त बन्दुक नै।न त उनीहरूलाई माओवादीले पत्यायो न त सरकारले नै कति त अयोग्य लडाकु ठहरिएर रूदै रूदै शिविरबाट बाहिरिए।यति खेर कोही खाडीमा पसिनासँग पैसा साटि रहेका छन् भने कोही बम बारुद र गोलीको चोट शरीरमा बोकेर आमरण अनसन बसी रहेका छन् तर ती हिजोका दिन बुर्जुवा शिक्षाको संज्ञा दिनेहरूका छोरा छोरीहरू युरोप अमेरिकामा उच्च शिक्षा हासिल गर्दछन्।आखिर बुर्जुवा शिक्षा भन्नेहरूले आफ्नालाई चाहिँ युरोप अमेरिकामा नै पढाउनु रहेछ भने बिचरा ती ५२/५३ सालमा ५/७ कक्षामा पढ्नेलाई किन बाध्य बनायौ बन्दुक बोक्नलाई ? केही दिन अगाडी सामाजिक सञ्जाल फेसबुकको भित्तामा कमरेड जनार्दन शर्मा र कमरेड देवेन्द्र पौडेलका छोरीहरूले अमेरिकाको युनिभर्सिटीबाट स्नातकोत्तर पुरा गरेको तस्बिरहरू भाईरल भए।स्नातकोत्तर पास गर्नेमा जनार्दनको छोरी काब्यता गौतम र देवेन्द्रको छोरी गरिमा पौडेल हुन्।त्यसै गरी पूर्व गृहमन्त्री कमरेड शक्ति बस्नेतको छोरी सङ्गम पनि अमेरिकामै अध्ययनरत छिन्।त्यसै गरी नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको छोरी पनि भारतमै पढेकी हुन।

वर्तमान समयमा नेताको छोरा छोरीले युरोप अमेरिका पढ्यो भनेर मेरो कुनै गुनासो होइन तर जनवादी शिक्षा लागु गर्छु भन्ने कमरेडहरूले आफ्ना सन्ततिका लागि किन बुर्जुवा शिक्षा रोजे भन्ने हो।एउटा कुरामा चाहि कमरेड प्रचण्डलाई म मान्दछु।उहाँले जनयुद्धमा आफ्ना छोरा छोरीलाई आफैसङ हिँडाए।कहीँ कतै विदेश पढ्न पठाएनन्।के त्यो युद्धमा होमिएका भाइ बहिनीहरूको आत्माले यो कुरालाई सहजै पचाउला त ? आज न त शिक्षा छ न त सिप छ बेरोजगार भएर घरको न घाटको भई रहँदा पक्कै पनि पछुतो चाहिँ लागेकै हुनु पर्छ।माओवादीमा कोही रहरले लागे,कोही बाध्यता र विवशताले लागे होलान् तर आज ५२ देखि ७४ साल सम्म आई पुग्दा न त रह्यो माओवादी न त रह्यो माओवाद सबै विदेशबाट आयातित हुन २२/२३ वर्ष पछि माओवादलाई उतै तिर नै फर्काई दिए।विगतमा माओवादीका नेताहरूले ती कलिला बाल मस्तिष्कलाई नभुटेको भए कोही भाइ बहिनी यति खेर डाक्टर,इन्जिनियर साथै मास्टर भएर बस्थे होलान् तर दुर्भाग्य ती भाइ बहिनी आज कोही परदेशमा छन् त कोही नेपालै तड्पिएर बाँची रहेका छन्।