अब बुढापाकाले नेबिसंघको नेतृत्व गर्न नपाउने
काठमाडौँ- कांग्रेस उपसभापति धनराज गुरुङले विद्यार्थी संगठनको नेतृत्व विद्यार्थीले नै गर्नुपर्ने बताएका छन् । उनले आफू ३१ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति भएको स्मरण गर्दै विद्यार्थी संगठनको नेतृत्व विद्यार्थीले नै गर्नुपर्ने बताएका हुन् ।
कांग्रेसको विद्यार्थी संगठन हाल नेतृत्वविहीन बनेको छ । नेविसंघको तदर्थ समितिका सभापति राजिव ढुंगाना पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनी स्वतःपदमुक्त भएका छन् । तर कांग्रेसले महाधिवेशन गराउनका लागि तदर्थ समितिलाई समेत नेतृत्व दिन सकेको छैन ।
यस सन्दर्भमा यथाशीघ्र तदर्थ समिति गठन गर्न र छिटो महाधिवेशन गरेर संगठनलाई जागरुक बनाउन माग गर्दै सोमबार केन्द्रीय कार्यालय पुगेका विद्यार्थी नेताहरूसँग उपसभापति गुरुङले नेविसंघलाई विद्यार्थीकै नेतृत्वमा फर्काउने बताएका थिए ।
‘नेविसंघका भाइबहिनीहरूसँग नेविसंघको वर्तमान सांगठनिक अवस्था र आगामी रणनीतिका बारेमा छलफल गरियो,’ उपसभापति गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यिनै भाइबहिनीहरूको अनुहारमा वास्तविक नेविसंघ झल्किन्छ । म ३१ वर्षको उमेरमा नेविसंघको केन्द्रीय सभापति भएको त्यो दिन सम्झिएँ ।’
तत्कालीन अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसकेर नेविसंघबाट राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाले ढुंगानाको नेतृत्वमा तदर्थ समिति बनाएका थिए । तर पार्टीभित्र नेताहरूको स्वार्थ बाझिँदा दुई वर्षमा हुनुपर्ने नेविसंघको महाधिवेशन तीन वर्षदेखि रोकिएको छ ।