बुद्ध एयरलाई १० करोड घाटा लगाउने त्यो एउटा उडान - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

बुद्ध एयरलाई १० करोड घाटा लगाउने त्यो एउटा उडान



काठमाडौं- निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी मानिने बुद्ध एयरले नाफा नभएपपछि काठमाडौंबाट दक्षिण एसियाली महानगर जोड्ने अभियानअन्तर्गत थालेको काठमाडौं–कोलकाता-काठमाडौं उडान बन्द गरेको छ।

६ महिनाअघि सातामा तीन दिनबाट थालिएको बुद्धको काठमाडौं–कोलकाता–काठमाडौं उडान सोमबार अन्तिम थियो।

‘यात्रु जेनरेट भएन,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले भने, ‘जेट विमानबाट अन्तर्राष्ट्रिय उडान जानकालागि हामीले हामीले कोलकत्ताकालागि गरेको उडान परिक्षण उडान थियो। यो उडाननै घाटामा गएकाले बुद्धले कोलकत्ता उडान बन्द गरेको छ।’

उनले यसै उडानको अनुभवकै आधारमा आगमी दिनमा पोखराबाट जेट विमानमार्फत भारत लगायत एसियाली महानगरमा उडान गर्ने योजना पनि स्थगन भएको बताए। यो खबर आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन्।

बुद्धले ६ महिना काठमाडौं–कोलकाता–काठमाडौं उडान गर्दा १० करोड घाटा बेहोरेको जनाएको छ। ‘साढे ७ करोड हाराहारी अपरेसन घाटा र साढे २ करोड हाराहारी मार्केटिङ खर्च गरी १० करोड हाराहारी घाटा बेहोर्‍यौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने।

सुरुमा सातामा तीन दिन मात्रै उडान थालेको यस एयरलायन्सले पछिल्लो एक महिना सातामा दुई ओटा मात्रै उडान गरेको थियो।