चितवनमा ८० वर्षीय वृद्धलाई घर निकाला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चितवनमा ८० वर्षीय वृद्धलाई घर निकाला



भरतपुर : भरतपुर महानगरपालिका १ रामनगरका ८० बर्से गोविन्द डंगोल परिवारले निकालेपछि छिमेकमा डेरा लिएर बस्न बाध्य छन्। अथक सम्पत्ति भएका उनलाई श्रीमती र चारभाइ छोराले दुई महिनाअघि घर निकाला गरेका हुन्। ‘बूढेसकालमा छोराहरूको सहारा पाइएला भनेको उल्टै निकाले’, उनले रुँदै भने, ‘परिवारबाटै यस्तो अन्याय होला भन्ने सोचेकै थिइनँ ।’ उनले गुनासो गर्दै भने, ‘किर्ते सही गराएर मेरै सम्पत्तिबाट वञ्चित गराए, त्यति धेरै सम्पत्ति भएर पनि घरबारविहीन हुनुपरेको छ ।’

ज्येष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले ठगी गरिएको उनको आरोप छ। उनले २०१८ सालमा कृषि विभागबाट ३५ वटा अण्डा ल्याएर कौसीमा कुखुरा पालन सुरु गरेका थिए। काठमाडौंबाट ०४५ सालमा धार्के आएका उनले ०४७ सालदेखि भरतपुरको जुगेडीमा समेत पोल्ट्री फर्म सञ्चालन गर्दै आएका छन् ।

काठमाडौंमा ६ रोपनी जग्गासहित तीन वटा घर, धादिङमा घरसहित करिब तीन बिघा जग्गा, चितवनको जुगेडी, भतेरीमा करिब १२ बिघा जग्गा र रामनगरमा तीन वटा घरसहित दुई बिघा जग्गा भएको उनले बताए। परिवारबाट अलग बनाइएपछि न्याय माग्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उनले उजुरी दिएका छन् ।

यस्तो थियो परिवारिक विवाद

परिवारमा लामो समयदेखि विवाद भएको छिमेकीसमेत रहेका भरतपुर १ का वडासदस्य यमबहादुर रानामगरले बताए। ‘उहाँको छोराछोरी छन् भनेको त सुनेको थिएँ’, उनले भने, ‘तर, घरमा कहिल्यै देखेनौं। घरनिकाला गरिदिएपछि हामी उहाँको न्यायका लागि लडिरहेका छौं ।’ उनका अनुसार, लामो समयदेखि डंगोलको हेरचाह भरतपुरकी राजमति कुमालले गर्दै आएकी थिइन्। त्यसैको रिसमा परिवारले घर निकाला गरिदिएको छिमेकीको आशंका छ। अहिले डंगोल परिवारबाट राजमतिमाथि समेत दुव्र्यवहार भएको मगरको भनाइ छ। पीडित डंगोलका अनुसार करिब २६ वर्षदेखि राजमतिले स्याहारसुसार गर्दै आएकी छन् ।

डंगोलले परिवारका सदस्यलाई कारबाहीको माग गरेका छन्। रामनगर र भतेरीको घर खाली गराई शान्तिपूर्वक बस्ने व्यवस्था मिलाइदिनसमेत उनले भनेका छन्। ‘मेरो अधिकारभित्र रहेका व्यवसाय र सम्पत्ति उपलब्ध गराई न्याय दिलाइ पाऊँ’, उनले भने, ‘म, श्रीमती र चारभाइ छोरा गरी पूरा सम्पत्तिलाई ६ भाग लगाइदिए पनि म राजी छु ।’ उनका अनुसार श्रीमती र साइँला छोरा पिटरसन काठमाडौं बस्छन्। जेठो छोरो रोबिन्सको परिवार भने धादिङको धार्केमा छ। माइलो छोरो विद्याभूषण परिवारसहित भरतपुरको जुगेडी बस्दै आएका छन्। कान्छो छोरो जोनसन भने अमेरिकामा छन् ।

अन्नपूर्ण पोष्टमा खबर छ