७७ वर्षीया बृद्धा बलात्कृत,बलात्कारपछि जिब्रो चुँडाउने प्रयास - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

७७ वर्षीया बृद्धा बलात्कृत,बलात्कारपछि जिब्रो चुँडाउने प्रयास



इलाम – इलामकी ७७ वर्षीया एक बृद्धा बलात्कृत भएकी छिन् । दक्षिणी इलामस्थित रोङ गाउँपालिका–१ कटहरेकी ती बृद्धा आफ्नै घरमा सुतिरहेका बेला राति बलात्कृत भएकी हुन् ।

बृद्धाका आफन्तका अनुसार, उनलाई आइतबार राति ११ बजेतिर एक व्यक्तिले मुख थुनेर बलात्कार गरेका थिए । घटनामा संलग्न व्यक्तिले बलात्कारपछि बृद्धाको जिब्रो चुँडाउने प्रयास गरेका थिए । बृद्धाको हाल झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको जिब्रोको शल्यक्रिया गरिएको छ ।

बृद्धा बलात्कृत भएको खबर पाएपछि रोङ गाउँपालिका–१ का वडाध्यक्ष बुद्धिबहादुर ढकाल, गाउँपालिकाका प्रवक्ता सुवास तामाङ र प्रहरीको टोली अस्पतालसम्म आएर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रहरीले हालसम्म यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

दुर्गम ठाउँ भएका कारण उपचारका लागि बृद्धालाई सोमबार बिहान १० बजे मात्र झापा ल्याइएको थियो । यद्यपि, हस्पिटलले निकै ढिलो गरी उपचार सुरु गरेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ घटना विवरण

घर र भन्साघर छुट्टाछुट्टै थियो । घरमा बृद्धा, उनका श्रीमान र छोरा थिए । साँझ खाना खाइसकेपछि बृद्धा भन्साघरमै सुतिन् । उनलाई बाथको समस्या थियो । घरको टाँडमाथि उक्लिन गाह्रो हुन्थ्यो । बाबु–छोरा भने घरमा गएर सुते ।

राति झन्डै ११ बजे छोराले हल्लाखल्ला सुने । हतार गरेर आमा भएको ठाउँमा जाँदा डरलाग्दो दृश्य थियो । उनलाई देख्नासाथ बलात्कारमा संलग्न मान्छे फरार भयो । आमाको कपडा मिलाइदिएर उनले छिमेकीलाई गुहार मागे ।