वृद्धभत्ता पाँच हजार छिट्टै पुर्याउने प्रचण्डको घोषणा !
चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताएका छन् ।
भरतपुर–२१ पार्वतीपुरमा बुधबार आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकारले ज्येष्ठ नागरिकको समस्या समाधान गर्ने विश्वास दिलाए । “घोषणापत्रमा भत्ता रु. पाँच हजार पुर्याउने भनिएको छ, योसँगै ज्येष्ठ नागरिकको राज्यले उचित संरक्षण गर्छ”, प्रचण्डले भने ।
चितवनबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनको विकासका सन्दर्भमा अन्य जिल्लाका लागिसमेत नमूना हुने गरी जिल्लाको विकास गर्ने योजना रहेको बताए ।
अहिले नै विभिन्न १५ वटा भित्री सडकमा कालोपत्रका लागि बजेट आइसकेको भन्दै अध्यक्ष प्रचण्डले अब विकासले गति लिने उल्लेख गरे । स्थानीय कृष्ण चोकमा प्रहरी चौकी स्थापनाका लागिसमेत पहल शुरु भएको उनको भनाइ थियो ।
सो क्रममा वृद्धवृद्धाले वृद्धाश्रम निर्माण गर्न अध्यक्ष प्रचण्डसँग माग गरेका थिए । प्रचण्डले आश्रम बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा चितवनका विभिन्न क्षेत्रका वृद्धवृद्धालाई सम्मान गरिएको थियो । स्वास्थ्य शिविर भने आगामी १५ गतेसम्म सञ्चालन हुने स्थानीय नारायण आचार्यले जानकारी दिए ।