ब्राजिललाई क्वार्टरफाइनलमा पुर्याउने नेइमारको सनसनीपूर्ण गोल ! - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

ब्राजिललाई क्वार्टरफाइनलमा पुर्याउने नेइमारको सनसनीपूर्ण गोल !



काठमाडौं– पाँच पटकको विश्वविजेता ब्राजिल २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार रसियाको कजानमा भएको अन्तिम १६ को खेलमा मेक्सिकोलाई २-० गोलले पराजित गर्दै ब्राजिलले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

अब ब्राजिलले क्वार्टफाइनलमा जापान वा बेल्जियम मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

ब्राजिलका लागि नेइमारले ५१ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। विलियमले मिहिनेत गरेर उपलब्ध गराएको ‘लो क्रस’ मा नेइमारले गोल लाइन नजिकबाट ‘टच’ गरेर गोलपोस्टको दिशा दिएका थिए। जारी विश्वकपमा नेइमारको यो दोस्रो गोल हो। यसअघि उनले समूह चरणमा कोस्टारिका बिरुद्ध गोल गरेका थिए।

ब्राजिलका लागि ८८ मिनेटमा रोबर्टो फिर्मिनोले दोस्रो गोल गरे। नेइमारले उपलब्ध गराएको क्रसमा सब्सिच्युट खेलाडी फिर्मिनोले डिबक्स भित्रबाट गोल गरेका हुन्। उनी काउटिन्होको स्थानमा मैदान छिरेका थिए।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा दुवै टिमले समान ५०-५० प्रतिशत बल नियन्त्रणमा लिँदा खेल रोमाञ्चक बनेको थियो। पहिलो हाफ ब्राजिलले ११ प्रहार गर्दा मेक्सिकोले ४ प्रहार मात्र गर्न सक्यो। तर दोस्रो हाफको सुरुवातमा ब्राजिलले गोल गर्दै खेलमा पकड बनाएको थियो।

यता ब्राजिलका सेन्ट्रल मिडफिल्डर कासेमिरोले लगातार दोस्रो खेलमा पहेँलो कार्ड पाएका कारण अब क्वार्टरफाइनलको खेल गुमाउने भएका छन्।