कोरोनाले ब्राजिल तहसनहस: मृत्यु हुनेको संख्या आधा लाख बढी
काठमाडौं- कोरोना भाइरसको महामारीले ग्रस्त बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म ब्राजिलमा ज्यान गुमाउने संख्या ५० हजार ५८ पुगेको हो ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ९६८ जनाले ज्यान गुमाए भने ३१ हजार ५७१ जना संक्रमित थपिएका छन् । यसअघि ब्राजिलमा शनिबार अहिलेसम्मकै सर्वाधिक ५५ हजारभन्दा बढी संक्रमित फेला परेका थिए ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ७० हजार १३९ जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ७६ हजार ८९५ जनाको उपचार भइरहेको छ ।