ब्राजिलमा बन्यो एकैदिनमा सबैभन्दा धेरै संक्रमित भेटिएको किर्तिमान
काठमाडौं- ब्राजिलमा कोरोना संक्रमणमा एकदिनमा सबै भन्दा धेरै फैलने किर्तिमान नै बनेको छ। कोरोना भाइरसका संक्रमितको संख्या १० लाख भन्दा बढी हुने ब्राजिल विश्वको दोस्रो देश बनेको छ । दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ३२ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।
यस्तै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि लगातार बढी रहेको छ । लगातार चौथो दिन ब्राजिलमा १२ सय भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म ब्राजिलमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४८ हजार ९५४ पुगेको छ ।
परीक्षण अति कम भएकाले संक्रमित हुनेको संख्या अहिले भनिए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन् । विज्ञका अनुसार ब्राजिलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने बताएका छन् ।
ब्राजिल भन्दा अमेरिकामा मात्रै संक्रमित तथा मृत्यु हुनेको संख्या धेरै छ । अमेरिकामा २२ लाख १९ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये एक लाख १९ हजार भन्दा बढीको ज्यान गएको छ ।
ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको गम्भीर आलोचना हुँदै आएको छ ।
सुरुमा बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई ‘सामान्य फ्लू’ भन्ने गरेका थिए ।