विश्वकप: ब्रजिलको सनसनी, बन्यो समूह विजेता - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

विश्वकप: ब्रजिलको सनसनी, बन्यो समूह विजेता



काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ प्रवेश गरेको छ। बिहीबार विहान सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गर्दै समूह ‘ई’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो।

समूह चरणको अन्तिम खेलमा ब्राजिलका लागि पाउलिन्होले ३६ मिनेटमा गोल गरेर अग्रता दिलाए। उनले काउटिन्होले उपलब्ध गराएको पासमा सर्वियाका गोलकिपरलाई छक्काउदै गोल गरेका थिए। ब्राजिलका लागि दोस्रो गोल डिफेन्डर थियागो सिल्भाले गरे। उनले ६८ मिनेटमा नेइमारले प्रहार गरेको कर्नर बलमा गोल गरे।

जितपछि ब्राजिलले ३ खेलबाट ७ अंक जोड्यो। पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई २-० गोल नै पराजित गरेको थियो। अब ब्राजिलले अन्तिम १६ मा समूह एफको उपविजेता मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।

यता अर्को खेलमा कोस्टारिकासँग २-२ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड समूह ‘ई’ उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गर्‍यो। स्विट्जरल्यान्डका लागि ३१ मिनेटमा जेमाली गोल गरेका थिए। तर कोस्टारिकाका लागि केन्डल वाड्सनले ५६ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।

स्विट्जरल्यान्डका लागि ड्रामिकले ८८ मिनेटमा दोस्रो पटक टिमलाई अग्रता दिलाएपनि कोस्टारिकाका लागि सोमारले पेनाल्टीमा गोल गरेका थिए।

स्विट्जरल्यान्डले २ बराबरी र १ जित निकाल्दै ५ अंक जोडेर उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो। अब स्विट्जरल्यान्डले स्विडेनसँग खेल्नेछ। ३ अंक जोडेको सर्विया र १ अंक जोडेको कोस्टारिका भने बाहिरिए।