ब्राजिल भर्सेज अर्जेन्टिना : १ सय १० पटक भिडेका दुई समुहको नालीबेली - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

ब्राजिल भर्सेज अर्जेन्टिना : १ सय १० पटक भिडेका दुई समुहको नालीबेली



एजेन्सी – दक्षिण अमेरिकी फुटबलका दुई महारथी टोली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा आमनेसामने हुँदैछन् । दुवै टोलीको सम्भावित ११, प्रशिक्षकको भनाइ, खेल हुने नेपाली समय लगायत यस खेलबारे सम्पूर्ण जानकारी यसप्रकार छन् :

ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म ११० पटक भिडेका छन् । जसमा ब्राजिल हावी देखिएको छ । ब्राजिलले ४५ खेल जितेको छ  । अर्जेन्टिनाले ३९ खेल जितेको छ । दुईबीचको २६ खेल भने बराबरीमा सकिएको छ ।

खेल : कोपा अमेरिका २०१९ को पहिलो सेमिफाइनल
खेल हुने मिति : ३ जुन २०१९ (नेपाली समय अनुसार)
खेल सुरु हुने समय : बुधबार विहान ६:१५ बजे (नेपाली समयअनुसार)
मैदान : एस्टाडियो मिनीअरो, बेलो होरीजोन्टे
रेफ्री : रोदी जाम्ब्रानो, इक्वेडर

सम्भावित सुरुवाती ११:
ब्राजिल : एलिसन, ड्यानी आल्भेस, मार्किन्हस, थियागो सिल्भा, एलेक्स स्यान्ड्रो, आर्थर, क्यासेमिरो, ग्याब्रीएल जेसस, फिलिपे कोउटिन्हो, एभरटन, रोबर्टो फिर्मिनो
अर्जेन्टिना : फ्रान्को अर्मानी, जुआन फोइथ, जर्मन पेजेला, निकोलस ओटामेन्डी, निकोलस टाग्लियफिको, रोड्रीगो डे पल, लीआन्द्रो पारेडेस, जिओभानी लो सेल्सो, लिओनेल मेस्सी, लौटारो मार्टिनेज, सर्जियो अगुएरो

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा ब्राजिलका प्रशिक्षक टिटेले अर्जेन्टिनी कप्तान मेस्सीलाई रोक्न असम्भव रहेको बताएका छन् । मेस्सीले यस प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसकेपनि उनलाई कमजोर आँक्न नमिल्ने टिटेको बुझाइ छ । उनले मेस्सी एक्लैले खास प्रदर्शन नगरेपनि अर्जेन्टिनाको आक्रमणमा औंको प्रभाव रहेको बताएका छन् ।

‘हामीले अर्जेन्टिनाको एक खेलाडीमा मात्र ध्यान दिएका छैनौं । सामुहिक रुपमा अर्जेन्टिना निकै बलियो टोली हो । मेस्सी एक्लैलाई पनि पूर्ण रुपमा रोक्न सकिन्न । उनलाई कसरि कम प्रभावशाली बनाउने भन्ने हाम्रो योजना हो,’ टिटेले थपे, ‘ जसरी कोउटिन्हो एक्लैले खेल बदल्न सक्दैनन् । फिर्मिनो, डेबिड नेरेस लगायतले उनलाई साथ दिएर नतिजा निकाल्ने हो ।’

ब्राजिल घरेलु मैदानमा खेलिरहेको कारण पनि समर्थकको साथ रहने टिटेले विश्वास व्यक्त गरे । ‘ यदि समर्थकले टोली होटेलमा आउँदाजस्तो समर्थन गर्ने हो भने हामीलाई थप उर्जा मिल्नेछ । यो मैदान अझ विशेष छ र मलाई आशा छ समर्थकहरुको बलियो साथ रहनेछ ,’ उनले टुंग्याए ।

खेलको पूर्वसन्ध्यामा बोल्दै अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले फरवार्ड सर्जियो अगुएरो पहिलो रोजाइमा रहने प्रष्ट पारेका छन् । ३१ वर्षीय अगुएरोले अर्जेन्टिनाले यस प्रतियोगितामा खेलेका ४ मध्ये ३ खेलमा सुरुवाती रोजाईमा खेलेका छन् । उनले कप्तान लिओनेल मेस्सी र लौटारो मार्टिनेजलाई आक्रमणमा साथ दिएका हुन् ।

अगुएरोले अर्जेन्टिनाको लागि अपेक्षित प्रदर्शन गर्न नसकेको अवस्थामा ब्राजिलविरुद्ध उनी पहिलो रोजाइमा नरहने चर्चा भइरहँदा प्रशिक्षक स्कालोनीले उनी सुरुवातबाट खेल्ने बताएका छन् । ‘म अहिले यो पक्का गर्न सक्छु की अगुएरो पहिलो रोजाईमा हुनेछन्, ‘ उनले पत्रकार सम्मेलनमा भने, ‘ अगुएरो सधैं शंकाको घेरामा रहने खेलाडी हुन् तर पहिलो रोजाइमा हुन्छन् । बरु मेस्सी खेल्ने नखेल्ने पक्का छैन, अगुएरो खेल्नेछन् ।’

अर्जेन्टिनाले प्रतियोगितामा गरेको खराब प्रदर्शनलाई सुधार गर्दै फाइनल यात्रा तय गर्ने लक्ष्यमा रहनेछ । प्रतियोगिताको ४ खेलमा २ जित, १ बराबर र १ हार बेहोरेको अर्जेन्टिना पछिल्लो दुई संस्करण नै चिलीसँग फाइनलमा पराजित भएको थियो ।

ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिका २०१९ को सेमिफाइनल हुने बेलो होरीजोन्टेको इस्टाडियो मिनेराओ मैदानको छुट्टै इतिहास रहेको छ । र यो इतिहास ब्राजिलको लागि सुखद पक्कै छैन ।

सन् २०१४ को फिफा विश्वकप सेमिफाइनलमा घरेलु टोली ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको थियो । ब्राजिलको फुटबल इतिहासमा नै कालो दिनको रुपमा रहेको उक्त खेल भएको मैदानमा नै फेरी अर्को सेमिफाइनल खेल्ने तयारी रहेको छ । ब्राजिलले जारी प्रतियोगितामा सुधारिएको प्रदर्शन गरेपनि सेमिफाइनलमा भने फरक माहोल हुनेछ ।

ब्राजिल र अर्जेन्टिनाले एकआपसमा खेल्दा हालसम्म ब्राजिल ४१ खेलमा विजयी रहेको छ भने अर्जेन्टिनाले ३८ पटक जितेको छ । २६ खेल बराबरीमा टुंगिएका छन् । पछिल्लो पटक अर्जेन्टिना र ब्राजिलले यसै मैदानमा मैत्रीपूर्ण खेल खेल्दा ब्राजिल १-० ले विजयी रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा भने ब्राजिलले २०१६ मा भएको विश्वकप छनोटमा अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले यस मैदानमा ४ पटक खेलिसकेका छन् । उनले अर्जेन्टिना बाहिर राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी खेल खेलेको मैदान पनि हो ।

अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेपनि यसपटक टोलीको प्रदर्शन भने सन्तोषजनक हुन सकेको छैन । विशेषगरी कप्तान लिओनेल मेस्सीबाट गरिएको अपेक्षा निराशामा परिणत भएको छ । मेस्सीले ब्राजिलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई फाइनलसम्म डोर्याए प्रतियोगितामा राम्रो छाप छाड्नेछन् । घरेलु टोली ब्राजिल प्रतियोगितामा अपराजित छ । प्रतियोगिताभर कुनै गोल नखाएको ब्राजिल पनि उपाधिको बलियो दाबेदार हो ।

मेस्सीले ब्राजिलविरुद्ध पहिलो खेल सन् २००६ को विश्वकपपछि खेलेका थिए । दुवै टोली विश्वकपको क्वाटरफाइनलमा पराजित भएपछि खेलिएको मैत्रीपूर्ण खेलमा ब्राजिल ३-० ले विजयी रहेको थियो । त्यसपछि सन् २००७ को कोपा अमेरिका फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ३-० ले नै हराउँदै उपाधिमा कब्जा गर्यो । मेस्सीले उक्त प्रतियोगितामा २ गोल र १ असिस्ट योगदान दिएका थिए ।

मेस्सीले सन् २०१० मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलविरुद्ध पहिलो गोल गरे । ब्राजिलविरुद्ध खेलेको पाँचौ खेलमा गोल गर्न सफल मेस्सीले उत्कृष्ट गोल गर्दै टोलीलाई १-० को जित दिलाएका थिए । त्यसपछि सन् २०१२ मा अमेरिकाको न्यू जर्सीमा ८० हजार समर्थकमाझ मेस्सीले ब्राजिलविरुद्ध ह्याट्रिक पनि गरे । अर्जेन्टिना र ब्राजिलबिचको खेलमा ह्याट्रिक गर्न सफल खेलाडीमा पेले र मेस्सीमात्र रहेका छन् । उक्त खेलमा मेस्सीले ८५ औं मिनेटमा ह्याट्रिक पूरा गर्दा अर्जेन्टिना ४-३ ले विजयी रहेको थियो ।

मेस्सीले ब्राजिलविरुद्ध खेलेका ९ खेलमा ४ गोल गरेका छन् । उनले सबै गोल मैत्रीपूर्ण खेलमा गरेका हुन् । मेस्सीले अझैपनि विश्वकप छनोट वा कोपा अमेरिकामा ब्राजिलविरुद्ध गोल गर्न सकेका छैनन् । मेस्सी अर्जेन्टिनालाई पाँचौ फाइनलमा पुर्याउने लक्ष्यसाथ मैदानमा उत्रनेछन् । त्योभन्दा ठूलो लक्ष्य उनले अर्जेन्टिनाबाट खेल्दै उपाधि खडेरी तोड्नु हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै ब्राजिलका मुख्य डिफेन्डर थियागो सिल्भाले मेस्सीको प्रशंसा गरेका छन् ।

पेरिस सेन्ट जर्मेनका कप्तान समेत रहेका सिल्भाले मेस्सीविरुद्ध खेल्न निकै कठिन हुने बताएका छन् । ‘ मेरो लागि मेस्सी विश्व फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् । हरेक पटक उनीविरुद्ध उत्रँदा, चाहे त्यो राष्ट्रिय टोली होस् या क्लब होस्, उनलाई रोक्न निकै कठिन हुने गर्दछ,’ सिल्भाले थपे, ‘ उनको बारेमा जति अध्ययन गरेपनि उनको स्तर र उनले पार्न सक्ने प्रभावबारे बुझ्न सकिन्न ।कतिपय समयमा उनले आफूले सोच्न पनि नसक्ने प्रदर्शन गर्छन् । त्यहि फरक छ ।’

सिल्भाले मेस्सी उत्कृष्ट खेलाडी भएपनि सेमिफाइनलमा उनलाई रोक्ने हरप्रयास गर्ने प्रष्ट पारे । ‘ एक सेन्टर डिफेन्डरको भूमिकामा रहेपछि हरेक सम्भावनाको अध्ययन गर्नुपर्छ । उनी कहिले दायाँ त कहिले बायाँ जान्छन् । ब्राजिल र अर्जेन्टिनाको खेल सहज पक्कै हुँदैन । हामी उनलाई अन्य खेलमा पनि प्रशंसा गर्ने ठाउँ राख्ने छौं,’ उनले भने ।

अर्जेन्टिनाले समूह चरणमा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । ब्राजिल भने अपराजित रहँदै अन्तिम ४ मा स्थान बनाउन सफल रहेको हो । ब्राजिलले सेमिफाइनलमा पाराग्वेलाई टाइब्रेकरमा पराजित गरेको थियो भने अर्जेन्टिनाले भेनेजुएलालाई २-० ले हराएको थियो ।

ब्राजिलले प्रतियोगिताको सुरुवातमा नै नेयमारलाई चोटका कारण गुमाएको थियो । २७ वर्षीय फरवार्डको अनुपस्थितिमा पनि ब्राजिलको आक्रमणमा खासै समस्या देखिएको छैन । ब्राजिल प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलसम्म पुगेपनि यसक्रममा टोलीको प्रदर्शनमा भने उतारचढाव आएको छ । क्वाटरफाइनलमा भने ब्राजिल पाराग्वेसँग गोलरहित बराबरीमा रहेपछि टाइब्रेकरमा विजयी रहेको थियो ।

ब्राजिलका लागि अर्जेन्टिनाविरुद्ध दुई खेलाडी चोटका कारण खेल्न नसक्ने भएका छन् । लेफ्ट ब्याक फिलिपे लुइसले पछिल्लो दिन प्रशिक्षणमा सहभागी भएका छैनन् । पाराग्वेविरुद्ध हाफ टाइममा एलेक्स स्यान्ड्रोले उनको स्थान लिएका थिए । उनैले अर्जेन्टिनाविरुद्ध खेल्ने संभवाना रहेको छ ।

ब्राजिलले मिडफिल्डर फर्नान्डीन्होको पनि साथ पाउने छैन । उनले घुँडाको चोट बोकेपछि पुरै समय मैदानमा बिताएका थिएनन् । उनले प्रशिक्षणमा पनि पुरै समय सहभागिता जनाएका छैनन् । क्यासेमिरो प्रतिबन्धबाट फर्केका कारण पनि उनी विश्राममा रहनेछन् ।