विपीलाई नै भुल्यौ भने काँग्रेसी हुनुको केही अर्थ रहने छैन। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विपीलाई नै भुल्यौ भने काँग्रेसी हुनुको केही अर्थ रहने छैन।



नेपाली काँग्रेस पार्टीको संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विपी कोइरालाको ३६ औँ स्मृति दिवसमा स्वर्गीय कोइराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै नेपालको राजनीति पृष्ठभूमिमा स्वर्गीय कोइरालाले नेपाल र नेपाली जनताका लागि दिनु भएको योगदान र राष्ट्रिय मेल मिलापको नीतिलाई स्मरण गर्दै वर्तमान परिपेक्षमा नेपाली काँग्रेस पार्टी राष्ट्रियता,लोकतन्त्र र समाजवादको नीतिबाट बिस्तारै विमुख हुँदै अगाडी बढी रहेको अवस्थामा एउटा नेपाली काँग्रेसको क्रियाशील सदस्यको हैसियतले काँग्रेसले भुल्दै गएका ती नीतिहरूलाई स्मरण गराउन खोजेको मात्र हुँ।

जन नायक विपी कोइरालाले विगतका दिनमा नेपालको भौगोलिक बनावट र त्यस समयका नेपाली जनताका दैनिकीलाई मध्यनजर राख्दै प्रतिपादन गर्नु भएको समाजवादको नीति अहिले आएर पनि त्यतिकै समय सान्दर्भिक नै छ।विपीको समाजवादको नीतिको खास अर्थ लगाउने हो भने नेपाली जनताको जीवनलाई कसरी सरल र सहज बनाउने भन्ने नै हो।

हरेक नेपाली जनताले बस्नका लागि सानो झुपडी होस,बिहान बेलुकी खानाको लागि परिश्रम गर्ने केही जमिन होस,एउटा लैनचौर गाई होस,छोरा छोरीले राम्रो शिक्षा दीक्षा पाउन र बिरामी पर्दा औषधी उपचार पाउन भन्ने बिचारमा नै केन्द्रित भएर समाजवाद लागु गरिएको थियो।आज पनि ती बिचार त्यतिकै लोक प्रिय छन् किनकि आजको दिन सम्म पनि लाखौँ लाख नेपाली जनताहरू यी समाजवाद भित्र केन्द्रित भएका कुराहरूबाट विमुख छन्।कुनै पनि सरकारले यस्ता समस्याहरूलाई समाधान गर्न सकेका छैनन्।

विपीको समाजवादलाई काँग्रेसले व्यवहारमा उतार्न नसक्नु भनेको एकदमै दुखदायी कुरा हो।नेपालका अन्य राजनीति दलका नेताहरूले पनि विपीको समाजवादलाई मनन गर्ने हो भने नेपालले समयमा नै समुन्नति नेपालको मार्गलाई चुम्ने थियो।

देश विकासका लागि ५०औं वर्ष पछाडिका विकासका काल्पनिक खाकाहरूलाई सपना बनाई नेपाली जनताका माझ नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीले झैँ बाँड्नुको कुनै अर्थ छैन।वर्तमान अवस्थामा नेपाली जनताको समस्या बुझेर जनताको मर्म बुझ्दै समस्या समाधान गरी अगाडी बढ्नु नै राम्रो हुनेछ।जसरी रूख बलियो हुनका लागि त्यसको जरा पनि त्यतिकै गहिराइमा जान जरुरी छ यदि हाँगा भन्दा जरा कम गहिराइमा भयो भने त्यो रूख ढली हाल्छ।

केपी ओलीको विकासको सपना पनि हाँगा बढी भएको रूख सरह नै छ तसर्थ त्यसको पनि केही अर्थ छैन।त्यो त केवल केही क्षणका लागि सस्तो लोकप्रियताका लागि मात्र हो।बिचार त विपीको जस्तो हुनु पर्छ जुन बिचार आज सम्म पनि कालजयी नै छ।

विपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीतिलाई अपनाएर प्रवासबाट नेपाल आउनु भएको थियो।मेल मिलापको नीति बिना देशमा राजनीति,सामाजिक तथा आर्थिक विकासका मार्गहरू खुल्ला नहुने हुँदा राष्ट्रिय मेलमिलापको नीति अपनाउनु भएको थियो।जुन नीति बिना आज पनि नेपालका राजनीति दलहरू बिच सहमति र सहकार्य हुन कठिन छ।विपीको मेलमिलापको नीति र गिरिजा प्रसाद कोइरालाको सहमति र सहकार्यले नेपालको राजनीतिमा अमिट छाप पारेको छ।

विपी कोइरालामा देश र जनताका हितका लागि जुन किसिमका बिचार थियो आज आएर त्यस्तो किसिमको बिचार न काँग्रेसका शीर्ष नेतामा नै देखियो न त कार्यकर्तामा नै अरू राजनीति दल भित्रका त कुरै नगरौँ।नेपाल र नेपाली जनताका लागि आफ्नो जीवनको स्वर्णिम पलहरू नेपाल सुन्दरीजल स्थित जेलघरमा नै बिताएका विपी कोइराला एक कुशल साहित्यकार पनि हुन।उहाँले लेख्नु भएका उपन्यासहरू तिन घुम्ती,सुम्निमा,नरेन्द्र दाइ,मोदी आईन,हिटलर र यहुँदी र बाबु आमा र छोरा हुन भने कथाहरू दोषी चस्मा र श्वेत भैरवी हुन।आफ्नो जीवनका सम्पूर्ण समय राजनीतिका निम्ति सुम्पिएका कोइरालालाई यदि काँग्रेसले भुल्दै गएको खण्डमा नेपाली काँग्रेसले ठुलै मूल्य चुकाउनु पर्ने छ।

नेपाली काँग्रेस पार्टीले विपीको समाजवादलाई आजको परिबर्तित नेपाली समाजमा लागु गर्न सकेको खण्डमा विपी कोइरालाको आत्माले सधैँ भरी शान्ति पाई रहने छ।

जय नेपाल।

कर्ण बहादुर अधिकारी
महामन्त्री
नेपाली जनसम्पर्क समिति मकाउ।