बम विस्फोट : राम बहादुरलाई सहिद घोषणा गर्दै विप्लवले निकाल्यो यस्तो विज्ञप्ति - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

बम विस्फोट : राम बहादुरलाई सहिद घोषणा गर्दै विप्लवले निकाल्यो यस्तो विज्ञप्ति



कैलाली । नेपाल कम्युनिष्ट पार्टीले बिहिबार साझ कैलालीको धनगढीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने राम बहादुर सिंह ‘राजेश’लाई शहिद घोषणा गरेको छ । साथै उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समावेदना तथा दुख समेत व्यक्त गरेको छ ।

पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएर उनकाे ज्यान गएकाे नेकपाले जनाएको छ। बिहिबार नेकपा सेती महाकाली ब्युरो इन्चार्ज निर्माणले एक विज्ञप्ति सार्वजनिक गर्दै घटनामा घाइते भएका सर्वसाधारणहरुको सिघ्र स्वास्थ्य कामना गरेका छन् ।

इन्चार्ज निर्माणद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा , हिजो साँझ धनगढी उप-महानगरपालिका सहिद गेटनजिकै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुदाँ सहादत प्राप्त गर्नुभएका राम बहादुर सिंह क. राजेशलाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यत गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समावेदना प्रकट गरिएको उल्लेख गरिएको छ ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो भने बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ ।