कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछि ‘बोल्ड’ निर्णयको तयारीमा सरकार
काठमाडौं- कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेपछि विश्वभर चौतर्फी सतर्कता सुरू भएको छ । नेपालमा पनि यसबारे सरकारले बोल्ड निर्णय लिने तयारी गरेको छ । नेपालसँगको सीधा हवाइ उडान भएका मुलुकहरुमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमाइक्रोन संक्रमण पुष्टि भएसँगै नेपालले पनि रोकथामको पूर्वतयारीबारे पहल सुरु गरेको छ ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने भएका छन् ।
मन्त्री आलेले धेरै देशहरुले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्रतिबन्ध लगाएपछि नेपालमा पनि सतर्कताका लागि तयारी गरेका छन् । दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको अत्यन्तै संक्रामक मानिएको ओमाइक्रोन भेरिएन्टलाई डब्लुएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ ।
दक्षिण अफ्रिकासँग नेपालको सीधा उडान नभएपनि हङकङजस्ता सीधा उडान भएका मुलुकमा संक्रमण पुष्टि भएपछि नेपाल सतर्क बनेको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले हङकङमा यो भेरिएन्टका दुईजना संक्रमित भेटिएकाले संक्रमित संख्यामा वृद्धि भए हङकङसँगको उडान रोक्ने तयारी भैरहेको बताए ।
पौडेलका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण र आइसोलेसनमा कडाइ गरिने भएको छ भने सीमा नाकामा समेत कडाइ गरिने भएको छ । त्यहाँ हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको समेत उनले बताए ।
नयाँ भेरिएन्ट फैलिएको परिस्थितीबारे छलफल गर्न आइतबार दिउँसो कोभिड–१९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी)को बैठक बस्दैछ ।