ओली-प्रचण्ड बोलचाल बन्द
काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलचाल नै बन्द भएको छ । उनीहरूबीच ३ कात्तिकदेखि संवाद र छलफल हुन सकेको छैन ।
बोलचाल नै रोकिएपछि महासचिव विष्णु पौडेलको पहलमा एक महिनाका लागि केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावबाट पार्टी र सरकारमा उत्पन्न समस्या समाधानमा मत बाझिएपछि ओली–प्रचण्डबीच नौ दिनदेखि संवाद भएको छैन ।
ओली र प्रचण्डबीचको संवादहीनताकै बीचमा १५ देखि १७ कात्तिकमा डाकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक एक महिना पछि सरेको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण बैठक सारिएको भनिए पनि त्यस विषयमा ओली र प्रचण्डबीच कुनै छलफल भएको छैन । दुई अध्यक्ष छलफलमा नबसेपछि महासचिव पौडेलले बुधबार बिहान खुमलटारस्थित निवासमा पुगेर प्रचण्डसँग परामर्श गरेका थिए ।
प्रचण्डले बैठक सार्ने कुरामा सहमति जनाएपछि महासचिव पौडेलले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग थप परामर्श गरेर बैठक स्थगनको सूचना जारी गर्न केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकाललाई निर्देशन दिएका थिए । महासचिव पौडेलको निर्देशनलगत्तै उनीहरूले कोभिड– १९ को महामारीको बढ्दो प्रकोपका कारण बैठक एक महिना पछि सारिएको जानकारी गराएका छन् ।
‘कात्तिक १५ देखि १७ सम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड– १९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही मंसिर १५ देखि १७ सम्म आयोजना गरिनेछ,’ रिजाल र ढकालको विज्ञप्तिमा छ । गत २६ भदौमा सम्पन्न स्थायी समिति बैठकले आगामी २५ देखि २७ चैतसम्म हुने महाधिवेशन तयारीबारे छलफल गर्न १५ देखि १७ कात्तिकसम्म काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।