रामबहादुर र किस्मतीलाई ८ वर्षसम्म जेल
काठमाडौं-महान्यायाधिवक्ताको कार्यालयले कैलालीमा ‘बोक्सी’को आरोपमा राधा चौधरीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयका अनुसार बोक्सीको आरोपमा कसैलाई कुटपिट तथा अपमान गर्नु अपराध भएको र यसमा संलग्नहरुलाई ५ देखि ८ वर्षसम्म जेल सजाय र ५० हजारदेखि १ लाख रुपैयाँ जरिवाना, पीडितलाई क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ ।
अभियुक्तहरुलाई कानुन बमोजिम सजाय दिलाउने जिम्मेवारी अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलमा रहको भन्दै महान्यायाधिवक्ताको कार्यालयले भनेको छ, ‘यो विषयलाई गम्भीरतापूर्वक प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिन र पीडितलाई न्याय दिलाउने कार्यमा केन्द्रत हुने सरकारी वकिलको कार्यालयलाई निर्देशन गरिएको छ ।’
महान्यायाधिवक्ता अग्नि खरेलले पनि घटनालाई गम्भीरतापूर्वक लिइएको अनलाइनखबरलाई बताए ।
बोक्सीको आरोपमा चौधरीलाई आफूलाई बाबा बताउने रामबहादुर चौधरी र किस्मती चौधरीले कुटपिट गरेका थिए । रामबहादुर र किस्मती दुबैलाई प्रहरीले पक्राउ गरेको छ ।