बोहराटारमा देउवाइतर नेताको बैठक, प्रकाशमान गएनन् - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

बोहराटारमा देउवाइतर नेताको बैठक, प्रकाशमान गएनन्



काठमाडौं- कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सत्रअघि सभापति शेरबहादुर देउवाइतरका नेताहरू छलफलमा जुटेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा इतर समूहबाट साझा उम्मेदवार छनोटका लागि बैठक बसिरहेको हो।

छलफलमा सहभागी एक नेताका अनुसार आज बिहान सभापतिका आकांक्षी बिमलेन्द्र निधिले पौडेललाई फोन गरी सर्वसम्मत भए आफू पछि हट्ने बताएका थिए। त्यसपछि पौडेल निवासमा बैठक डाकिएकोमा निधि भने उक्त बैठकमा सहभागी भएका छैनन्।

बैठकमा सशांक कोइराला, रामशरण महत, डा. मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, महेश आचार्य लगायतका नेताहरू सहभागी छन्। अनौपचारिक बैठककै लागि सभापतिमा दाबी नछाडेका प्रकाशमान सिंहलाई पनि डाकिएकोमा उनी भने उपस्थित नभएको जानकारी एक नेताले दिए।

इतर पक्षले देउवाविरुद्ध साझा उम्मेदवार उठाउन लामो समयदेखि निरन्तर छलफल जारी राखे पनि सहमति जुट्न सकेको छैन। अन्य नेताहरूबीच पौडेललाई साझा उम्मेदवारका रूपमा अघि बढाउन लगभग सहमति जुटे पनि सिंह सहमत नहुँदा साझा उम्मेदवार छनोटको सम्भावना न्यून बन्दै गएको छ।

शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता, त्यसपछि साँझ ७ बजेसम्म मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ गर्ने कार्यतालिका रहेको छ। २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २७ गते नयाँ नेतृत्वका निर्वाचन गर्ने कार्यतालिका कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको छ।

निर्वाचन मिति नजिकिँदै गएपछि नेताहरूले साझा उम्मेदवारका लागि भेटघाटलाई तीव्रता दिएका छन्। आजै बिहान मात्रै केन्द्रीय सदस्यहरूले अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा पनि छुट्टै बैठक गरेका थिए।

बिहीबार राति अबेरसम्म महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा छलफल भएको थियो। छलफलमा महामन्त्री कोइरालाले सिंहले माने आफू पौडेललाई सहयोग गर्न तयार रहेको बताएका थिए। यस्तै सभापतिका अर्का आकांक्षी शेखर कोइरालाले पनि सर्वसम्मत भए पौडेललाई समर्थन गर्ने बताएका छन्।