प्रसाईँको विएण्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्रीकै चलखेल, मन्त्रीको धम्कि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रसाईँको विएण्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्रीकै चलखेल, मन्त्रीको धम्कि



काठमाडौं । दुर्गा प्रसाईँले सञ्चालन गरेको झापास्थित विएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन फेरि चलखेल सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयं त्यसका लागि अघि सरेका बताइँदै छ । डा. गोविन्द केसीसँग भेट गरेको गर्नु अघि शुक्रबार प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासलाई मेडिकल कलेज सञ्चालन गरेर विएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन दबाब दिएको बताईएको छ । त्यसको भोलिपल्ट शनिबार डा. गोविन्द केसीले प्रधानमन्त्रीलाई भेटेर आफुसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए ।

प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति दासलाई बालुवाटार बोलाएर विएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन दबाब दिएको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्रीका सहयोगिले भने यो बीचमा प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीलाई नभेटेको भनेका छन् । प्रधानमन्त्रीका एक सहयोगिले भने, ‘भेट भएको छैन । यो कुरा कहाँबाट आयो हामीलाई त जानकारी छैन ।’

तर, उपकुलपतिलाई बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र झापासहित पूर्वबाट प्रतिनिधित्व गर्ने नेकपाका १०–१२ जना सांसद समेत सहभागि भएका बताईएको छ । सांसदहरुकै अगाडि प्रधानमन्त्री ओलीले उपकुलपति दासलाई विएण्डसीलाई तत्काल मेडिकल कलेजको सम्बन्ध दिन भनेका हुन् ।

ओलीले दासलाई ‘तपाईले मेडिकल कलेज सञ्चालन गर्नुस् र मेडिकल कलेजको सम्बन्धन दिनुस् । त्रिवि र केयूले मेडिकल कलेज सञ्चालन गर्ने कोटा पुगिसक्यो । उनीहरुले पाँच–पाँच वटा मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका छन् । त्यसैले अब पूर्वाञ्चलले सञ्चालन गर्नु पर्ने भो’ भनेका थिए ।

जवाफमा उपकुलपतिले दासले ऐन नियमअनुसार गर्न सकिन्छ भन्दा शिक्षामन्त्री गिरिरामणि पोखरेल जंगिए । र, उनले धम्कीको भाषामा हामीले, भने पुग्यो, त्यही हो ऐन नियम भनेको, स्रोतले बतायो । नियमानुसार पहिले पीयूले मेडिकल कलेज सञ्चालन गर्नु पर्ने छ । पछि विधि प्रक्रिया पुर्‍याएर सम्बन्धन दिने हाे, प्रधानमन्त्री र मन्त्रीले भने जस्ताे अहिलेका अहिल्यै दिने भन्ने कुरा हाेईन । प्रधानमन्त्री ओलीलाई नेकपाका अध्यक्ष दाहालले उपकुलपतिलाई मनाउन निरन्तर दबाब दिईरहेका छन् । पूर्व माओवादी समेत रहेका प्रसाईँ दाहाल निकट निर्माण व्यवसायी हुन् ।

विएण्डसीलाई सम्बन्धन दिन दाहाले कयौँ पटक प्रयास गरेका छन् । यो विषय प्रचण्डका लागि निकै टाउको दुखाईको विषय बनेको छ । तत्कालीन एमाले र माओवादीको पार्टी एकताबारेको गोप्य बैठक प्रसाईकै घरमा बसेको थियो । बैठककै सिलसिलामा प्रसाईले जुम्लाको मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि ओली र दाहालको निकै आलोचना भईरहेको छ । यद्यपि, ओली र दाहालले सम्बन्धनका लागि प्रसाईँलाई नाईँनास्ती गर्न सकिरहेका छैनन् ।